सेना चलाउने कार्य राप्रपालाई सह्य नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली सेनाको संख्या कटौतीको विषय र बहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंगको रुपमा रहेको सेनालाई लिएर बेमौसमी बहस सिर्जना गर्न खोजिएको भन्दै राप्रपाले आपत्ति जनाएको हो ।
स्वःघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरुबाट सेनाको संख्या घटाउनुपर्ने माग उठ्नु दुर्भाग्यपूर्ण रहेको उसको ठहर छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरु श्रृङ्खलाबद्ध रुपमा उठ्नु रहस्यमय भएको बताएका छन् ।
नेपाल एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको सेनाको भूमिकामाथि प्रश्न उठाउनु दुःखद भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विकास निर्माण, सीमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरुलाई स्वच्छ राख्ने चुनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपदको समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, उनले राज्यको आर्थिक भार घटाउने अन्य धेरै उपाय रहेको र त्यसबारे राप्रपा बहस गर्न तयार भएको पनि बताएका छन् । मुलुकको भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने सेनालाई आफ्नो दायित्वबाट विमुख गर्ने–गराउने कार्य कदापी सह्य नहुने भन्दै उनले सचेतसमेत गराएका छन् ।
टिप्पणीहरू