काँग्रेस नेतृको अनुभव : पार्टीमा महिलालाई पूजिन्छ तर नेतृत्व स्वीकार गरिँदैन

काँग्रेस नेतृको अनुभव : पार्टीमा महिलालाई पूजिन्छ तर नेतृत्व स्वीकार गरिँदैन

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिच्किचाउने अभ्यास अझै कायम रहेको टिप्पणी गरेकी छन् । 

सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले महिला भएकै कारण क्षमता हुँदाहुँदै जिम्मेवारी दिन कञ्जुस्याईं गरिएको बताएकी हुन् । सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने तर, अहिले उनै महिलाको नेतृत्व भने स्वीकार नगर्ने अनौठो परम्परा रहेको उल्लेख गर्दै कटाक्षसमेत गरिन् । 

‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन् । तर, उनको नेतृत्व पार्टीले स्वीकारेको छैन’, यादवले भनिन् ‘जबकी सत्ययुगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ ।’

पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व नस्वीकारिएको गुनासो गर्दै उनले यसले पार्टी झन् कमजोर हुने चेतावनीसमेत दिएकी छन् ।

टिप्पणीहरू