सुन तस्करीमा आफ्नो संलग्नता नरहेको मल्होत्राको दाबी
एक क्विन्टल सुन तस्करीमा नाम जोडिएका व्यवसायी दीपक मल्होत्राले उक्त आरोपको खण्डन गरेका छन् । आज पत्रकार सम्मेलन गरेर उनले सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले हिजो सिनामंगलबाट बरामद गरेको थियो । उक्त सुन आयातमा मल्होत्राको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित र प्रसारित भएपछि उनले पत्रकार सम्मेलन गरेका हुन् ।
उक्त सुन आयातमा आफ्नो व्यावसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै मल्होत्राले कानुनी बाटोमा जाने बताए । किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको भन्नेबारे थाहा हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत छ ।’
अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर ‘डाइभर्ट’ गरेको हुनसक्ने भन्दै व्यवसायी मल्होत्राले कुनैपनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी दोहोर्याए ।
टिप्पणीहरू