ऋण नतिर्नेको जायजेथा रोक्का राख्न सरकारी निर्देशन
बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ऋण तिर्न अटेरी गर्ने ऋणीहरुको जायजेथा रोक्का राख्न निर्देशन दिएको छ । मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएकाको जसरी पनि कर्जा उठाउन निर्देशन दिएको छ ।
लामो समयदेखि ऋण नतिरी अटेर गर्ने ऋणी सदस्यहरुको खाता, जायजेथा स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखि पठाउन मन्त्रालयले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
सदस्यहरुले बचत गरेको रकम नै कर्जाको रुपमा प्रवाह हुने उल्लेख गर्दै मन्त्रालयले ऋणीहरुले समयमै आफूले भुक्तान गर्नुपर्ने साँवा र ब्याज नतिरिदिँदा सहकारीहरु समस्यामा परेको मन्त्रालयको ठहर छ । मन्त्रालयका अनुसार ऋण चुक्ता नगर्ने परिपाटीका कारण सहकारीले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेको हो ।
निर्देशनात्मक सूचनामा भनिएको छ, ‘सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाइएको छ ।’
त्यस्तै, बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ६५ र ६६ मा ऋणीहरुको खाता, जायजेथोको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखि पठाउन सक्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । साथै, मन्त्रालयले सबै ऋणीलाई समयमा नै ऋणको साँवा र ब्याज बुझाएर सहकारीमा देखिएको समस्या समाधानार्थ सहयोग गरिदिन आग्रह गरेको छ ।
‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवम् मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्तबमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याजसम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरुमा अनुरोध छ’, सूचनामा उल्लेख छ ।
टिप्पणीहरू