मधेशमा सरकारी कर्मचारीको चरित्रहत्या आतंक

मधेशमा सरकारी कर्मचारीको चरित्रहत्या आतंक

सिरहाको लहानस्थित यातायात कार्यालयका कर्मचारीहरुको चरित्रहत्या गरेर एक जना स्थानीयले आतंक मच्चाएका छन् । सामाजिक सञ्जालमा जथाभावी सामग्री पोष्ट गरेर गर्दै उनले कर्मचारीहरुको नियोजित रुपमा चरित्रहत्या गरेको बताइएको छ । 

लहान नगरपालिका–१२, जटियाहीका रामबच्चन साहले केही समययता फेसबुकमा कर्मचारीहरुबारे मनलाग्दी लेख्दै आएका छन् । विगत लामो समयदेखि यातायात कार्यालयमा बिचौलियाको रुपमा संलग्न उनले पछिल्ला दिनमा बिचौलियारुपी काममा अवरोध हुन थालेपछि जथाभावी लेखेर चरित्रहत्या गरेको कर्मचारीहरुको दाबी छ । 

उनले पहिलेदेखि नै त्यसरी ‘बार्गेनिङ’ गर्दै आएको कार्यालयका शाखा अधिकृत रोहित कोइरालाको भनाई छ । अहिले पनि त्यस्तै गर्न खोजेको उनी बताउँछन् । ‘साहले विगतदेखि नै यस्तो काम गर्दै आएका छन् । कर्मचारीहरुसँग बार्गेनिङ गर्ने उद्देश्यले नक्कली प्रमाण सम्प्रेषण गराएर समाचारहरु लेखाउने र मानसिक त्रास सिर्जना गर्ने काम भइरहेको छ’, उनले भने । 

पछिल्ला दिनमा स्थानीय सञ्चारकर्मीले उनले उपलब्ध गराइएका तथ्यहीन प्रमाणका समाचार प्रकाशन गर्न छाडेको बताए । त्यसपछि उनले ‘सलहेश फूलबारी’ नामक फेसबुक पेज खोलेर अफवाह फैलाएको बुझाई छ ।

यातायातका अर्का एक कर्मचारीका अनुसार उनले सेवाग्राहीसँग ट्रायल पास गराउने भन्दै रकम असुल्ने गरेका थिए । तर ती कर्मचारीले उनको अनुरोधलाई अस्वीकार गरेपछि साहले केही समय दबाब दिएको बताइन्छ ।

जति अनुरोध, आग्रह र दबाब दिएपनि आफूहरुले उनको कुरो नसुनेपछि साहले सामाजिक सञ्जालमा भ्रमको खेती गरेको कर्मचारीहरु बताउँछन् ।

टिप्पणीहरू