बेलायतमा नेपाली नर्सहरुको मासिक आम्दानी चार लाखबढी
वैदेशिक रोजगार विभागले बेलायतमा रोजगारीका लागि जान चाहने नेपाली नर्सहरुका लागि दरखास्त आह्वान गरेको छ । सरकारी प्रक्रियामार्फत बेलायत जान इच्छुक नर्सहरुसँग आवेदन माग गरिएको हो । नेपाल र बेलायत सरकारबीच भएको सम्झौताअनुसार पहिलो चरणमा एक सय जना नर्सको निम्ति आवेदन खुलाइएको हो । विभागले अनलाइनमार्फत आवेदनको निम्ति आग्रह गरेको छ ।
बेलायत जान चाहनेले आगामी अक्टोबर १९ सम्म आवेदन दिनसक्ने छन् । त्यसका लागि राहदानी अनिवार्य रहेको तर उमेर र लिङ्गले फरक नपार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, प्रतिष्ठित शैक्षिक संस्थाबाट स्टाफ नर्स, बिएस्सी नर्सिङ वा नर्सिङ्गमा स्नातकोत्तर उत्तीर्ण न्यूनतम योग्यता तोकिएको छ ।
नेपाल नर्सिङ परिषद्बाट लाइसेन्स लिएर दुई वर्ष कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् । कुनै आपराधिक रेकर्ड नभएका, बेलायतमा गैरकानुनी रुपमा काम नगरेकाले मात्रै आवेदन दिन मिल्ने बताइएको छ ।
अनलाइन फाराममा आवेदकको पासपोर्ट नम्बर, जन्ममिति, पूरा नाम, इमेल, फोन नम्बरलगायत तोकिएको विवरण पेश गर्नुपर्नेछ । सोही आधारमा अनलाइन रजिष्ट्रेशन पश्चात् विवरण चेकजाँच गरेपछि आवेदकलाई अन्तरवार्ताका लागि बोलाइने छ ।
उनीहरुले मासिक दुई हजार ३६७ पाउण्ड तलब पाउने छन् । सातामा ३७.५ घण्टा काम गर्नुपर्ने हुन्छ । उनीहरुले वार्षिक २७ दिन र सार्वजनिक बिदाको दिन छुट्टी पाउँछन् । बेलायतको कानुनअनुसार ओभरटाइम गर्न सकिने उक्त करार तीन वर्षको हुने छ ।
टिप्पणीहरू