अनुमतिबिना बोरिङ्ग खन्नेलाई कारबाही गरिने

अनुमतिबिना बोरिङ्ग खन्नेलाई कारबाही गरिने

पर्साको वीरगञ्ज महानगरपालिकाले अनधिकृत रुपमा डिप बोरिङ्गको कार्य बन्द गर्न निर्देशन दिएको छ । आफ्नो क्षेत्रभित्रका विभिन्न वडामा इजाजत नलिई जथाभावी डिप बोरिङ्ग जडान गर्ने कार्य व्यापक भएपछि महानगरपालिकाले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ । 

महानगरपालिकाले बिना इजाजत डिप बोरिङ्ग गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । बोरिङ्ग गर्नैपरेको खण्डमा अनिवार्य महानगरपालिकाको पूर्व स्वीकृति लिन सुसूचितसमेत गराइएको छ । 

जारी सूचनामा भनिएको छ, ‘इजाजतबिना अनधिकृत रुपमा मनोमानी ढङ्गले जथाभावी डिप बोरिङ्ग जडान गर्ने कार्य गरेको पाइएमा त्यस्ता कार्य गराउने र गर्ने दुवै पक्षलाई यस महानगरपालिका कार्यालय कारबाही गर्न बाध्य हुने व्यहोरा यसै सूचनामार्फत सम्बन्धित सबैमा आदेशानुसार जानकारी गराइन्छ ।’ 

वीरगञ्जमा खानेपानीको व्यापक हाहाकार छ । महानगरपालिकाले ट्याङ्करमार्फत पानी खरिद गरेर नगरबासीलाई वितरण गर्दै आएको छ । सामान्य ट्युबवेलमा पानी आउन छाडेपछि वीरगञ्जबासीले डिप बोरिङ्ग गर्न थालेका हुन् ।

टिप्पणीहरू