यस्ता छन् चोरी, लुटपाटबाट बच्न प्रहरीका सुझाव

यस्ता छन् चोरी, लुटपाटबाट बच्न प्रहरीका सुझाव

पछिल्लो समय लुटपाटका घटना ह्वात्तै बढ्न थालेपछि प्रहरीले सचेत हुन अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी लुटपाटका घटनाबाट बच्न सर्वसाधारणलाई सचेत गराएको हो । 

कार्यालयले पछिल्लो समय मुलुकका प्रायः सबैजसो ठाउँमा चोरी लुटपाटका घटना दिनदिनै बढिरहेको उल्लेख गर्दै मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्ला त्यसमा पनि विशेष गरेर जनकपुरमा यस्ता घटना बढेको भन्दै सुरक्षित हुन अनुरोध गरेको हो । 

कार्यालयले सार्वजनिक गरेको सूचनामा कहिँकतै जानुपर्ने भएमा घर पूर्णरुपमा खाली गरेर नजान तथा जानैपर्ने भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन भनिएको छ ।  त्यस्तै, रातको समयमा झ्याल, ढोका राम्रोसँग बन्द गर्न, महंगा गरगहना लगाएर एक्लै नहिँड्न, नचिनेको मान्छेलाई फोन नदिन पनि आग्रह गरिएको छ । 

प्रहरीले जथाभावी सवारीसाधन पार्किङ नगर्न, पार्किङ गर्दा ह्विल लक, साइरन प्रयोग गर्न, रातको समयमा अध्याँरो गल्लीमा पार्किङ नगर्न तथा बैंक तथा वित्तिय संस्थाका सुरक्षा गार्डलाई चुस्तदुरुस्त राख्न पनि भनिएको छ । 

यसैगरी, सरकारी कार्यालय तथा बैंक वित्तिय संघ संस्थाहरुमा काम विशेषले जाँदा सवारीसाधन सुरक्षित ठाउँमा पार्किङ गरी सुरक्षा गार्डलाई जानकारी गराउन, अनलाइन ठगीबाट बच्न र एक पटक चोरीमा संलग्न व्यक्तिहरु सजाय भुक्तानपश्चात् पुनः चोरीमा संलग्न हुने गरेकाले सोबाट बच्न पनि सुझाइएको छ ।

टिप्पणीहरू