केराको बीमा नगरेपछि आन्दोलन चर्क्यो
बीमा कम्पनीले केराखेतीको बीमा गर्न अस्वीकार गरेको विरोधमा किसानहरु आन्दोलित भएका छन् ।
बाराको निजगढ नगरपालिकाका किसानहरुले बीमा कम्पनीविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका हुन् । सिमरास्थित एभरेष्ट बीमा कम्पनीले केराखेतीको बीमा गर्न अस्वीकार गरेपछि बारा केरा तथा फलफूल उत्पादन संघले आज पत्रकार सम्मेलन गर्दै आगामी सोमबार बीमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएका छन् ।
भोलि किसान जागरण कार्यक्रम सञ्चालन गर्ने, पर्सि निजगढस्थित पूर्वपश्चिम राजमार्गमा किसानहरुको र्याली तथा कोणसभा गर्ने संघले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाइएको एक साता बितिसक्दा पनि माग पूरा नभएपछि आन्दोलन गर्न बाध्य भएको संघको भनाई छ ।
सरकारले बारामा उक्त बीमा कम्पनीलाई कृषि बीमाको जिम्मा दिएको छ । तर, कम्पनीले केराखेतीको बीमा गर्न नमानेपछि किसानहरु मर्कामा परेका छन् ।
उनीहरुले सडक आन्दोलनमा उत्रिने चेतावनीसहित संघको कृषि तथा पशुपन्छी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, बीमा प्राधिकरण, बीमा कम्पनी, निजगढ नगरपालिकामा ज्ञापनपत्र बुझाइसकेका छन् ।
टिप्पणीहरू