मेयर राई हिन्दू र इसाइ धर्मावलम्बीको दोहोरो चेपुवामा, धार्मिक पहिचान लुकाएको आरोप

मेयर राई हिन्दू र इसाइ धर्मावलम्बीको दोहोरो चेपुवामा, धार्मिक पहिचान लुकाएको आरोप

सामाजिक सञ्जालमा जथाभावी लेखेर चर्चासँगै विवादमा आइरहने धरान उपमहानगरका मेयर हर्कराज राई धार्मिक विवादमा फसेका छन् । स–साना विषयमा पनि तत्काल र उग्र प्रतिक्रिया जनाइहाल्ने स्वभावका उनले धर्मबारे आफूमाथि उठेका प्रश्नको फेसबुकबाट धाराप्रवाह जवाफ दिन थालेपछि विवाद छताछुल्ल भएको छ ।

मेयर राईले पछिल्लो २१ घण्टामा ३१ वटा फेसबुक स्टाटस लेखेका छन् । तीमध्ये १४ वटामा धर्मबारे उनीमाथि उठेका प्रश्नको जवाफ र टिप्पणी छ । हिन्दू र इसाई धर्मावलम्बीहरुको विवादमा परेका मेयर राईका स्टाटसमा विरोध र समर्थनमा उग्र प्रतिक्रिया आइरहेको छ । 

राईले कुनै एक धर्म विशेषप्रति विशेष लगाव नरहेको प्रष्ट्याउन लेखेका छन्, ‘मैले पिण्डेश्वर मन्दिरमा गएर पानी चढाएको भिडियो चाहिँ किन नपोस्टाको यी अति हिन्दुवादीहरुले ? गुम्बामा पनि छिरेको छु है ! त्यो पनि खोजेर पोष्टाउनु !’ धार्मिक युद्ध अतिवादीहरुका कारण हुने बताएका उनले थप लेखेका छन्, ‘चर्चमा छिरेर बोलेको काटेर १ मिनेटको भिडियो नलाउनु, त्यो भिडियो थोरैमा १५ मिनेटको छ सबै पोष्टाउनु ! हो यसलाई भन्छ धार्मिक सहिष्णुता !’

मेयर राई त्यतिमा मात्र रोकिएका छैनन् । उनको अर्को स्टाटसमा लेखिएको छ, ‘तामाङ समुदायको ल्होछारमा गएर “लास्सो फ्याफुल्ला“ भन्दा मलाई वुद्धमार्गी भएको आरोप नलाउनेहरुले इसाइहरुको कार्यक्रममा गएर “जय मसी“ भन्दा मलाई कृष्चियन देखेछन् ! कति हाँस्नु ! लाटा गोक्तेहरु !’

मेयर राइले हिन्दु अतिवादका कारण इसाई धर्म मान्नेको संख्या बढेको भन्दै कारण खोज्न पनि आग्रह गरेका छन् । उनी प्रश्न गर्छन्, ’इसाई बढे भनेर भन्नू भन्दा पनि किन बढे भनेर कारण खोज्नु ! जातिय विभेद पालेर बस्ने कुन धर्म हो ? वर्ण व्यवस्था कुन धर्ममा छ ? समयसापेक्ष बदलिन नसके सकिने मेलो आउँछ !’

धरानमा कसरी शुरु भयो धर्मको विवाद ? 

धरान–१४ स्थित बूढासुब्बा र दन्तकाली मन्दिर जाने बाटोको छेउमा चर्च स्थापना भएपछि धरानमा हिन्दू र इसाई धर्म मान्नेहरुबीच धेरै अगाडिदेखि सुषुप्त विवाद थियो । मेयर राईको सहयोगमा चर्च बनेको आशंका गरेका हिन्दूवादीहरु उनीसँग सन्तुष्ट थिएनन् ।

त्यहाँबाट चर्च हटाउन माग गर्दै आफूहरुले उठाएको माग मेयरले सम्बोधन नगरेको गुनासो गरिरहेका हिन्दूसम्बद्ध विभिन्न संघ संस्थाहरुले केही समयअघि ज्ञापन पत्रसमेत बुझाएका थिए । लगत्तै इसाईहरु पनि ज्ञापन पत्र लिएर पुगे । त्यसपछि मेयर राईले दुवै पक्षलाई सँगै राखेर मिलाउने प्रयास पनि गरेका हुन् । तर, समस्या समाधान भएन । 

त्यतिबेला मेयरले दुवै पक्षलाई स्थानीयस्तरमा मिल्न नसके न्यायिक निकायमा जान सुझाएर आफू कुनै एक धर्मको पक्षपाती नभएको सन्देश पनि दिएका थिए । तर, त्यसको भोलिपल्टै विराटनगरका हिन्दूधर्मका एकजना विवादित गुरु धरान पुगेर राईलाई ‘इसाईको मान्छे’ भनेपछि भित्रभित्रैको विवाद बाहिर आएको बताइन्छ । 

मेयर निकटहरुका अनुसार मिलाउन हरसम्भव प्रयास गर्दागर्दै पनि इसाइको आरोप लागेपछि बाध्य भएर राईले फेसबुकमा लेख्न थालेका हुन् । तर, कतिपय राईकै समर्थकहरुले पनि उनी इसाई नै हो भनेर ठोकुवा गरेका छन् । बरु उनले धार्मिक पहिचान लुकाएकोमा ती समर्थकको गुनासो छ । 

कट्टर हिन्दूवादी पार्टी राप्रपाका सांसद बिना लामा इसाई भएर पनि हिन्दूको भोटले चुनाव जितेको दृष्टान्त दिँदै एक जनाले भनेका छन्, ’संविधानले इसाई वा मुस्लिमलाई प्रधानमन्त्री वा राष्ट्रपति हुनसमेत रोकेको छैन, इसाई हुँदैमा धरानको मेयर हुन नपाउने भन्ने कुरै छैन । प्रश्न मतदातालाई उनले आफ्नो पृष्ठभूमि किन लुकाए भन्ने मात्र हो ।’

मन्दिर जाने बाटैमा नक्सासमेत पास नगरी चर्च बनाउन मेयर राईले अनुमति दिएको आरोप लगाउनेहरु पनि छन् । उपमहानगरका एक कर्मचारीले भने चर्च व्यक्तिको नाममा रहेको र सबै प्रक्रिया पूरा गरेर निर्माण गरिएकाले मेयरको भूमिका नै नरहेको दाबी गरेको छ । 

त्यसोभए यत्रो विवाद किन ? कि धर्मनिरपेक्ष राष्ट्रमा जननिर्वाचित प्रतिनिधि कुनै धर्मप्रति नरम हुनै नहुने हो ? जानकारहरु भन्छन्, ’क्रिसमसको दिन मेयर राईले कार्यकक्षमै केक काटेपछि उनीमाथि इसाईको आरोप लाग्दै आएको थियो । पछिल्लो विवाद त्यसैको उत्कर्ष  हो । बाहिर देखाउन चर्चको विषय उचालिएको मात्रै हो ।

टिप्पणीहरू