हर्न बजाएका बस चालकलाई ट्राफिक हवल्दारले बिहानै भकुरे
दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इञ्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीलाई हातपात गरेका हुन् ।
महेन्द्रनगरबाट रात्रि बस चलाउँदै आज बिहान ६ बजे गोकुलेश्वर पुगेका चालक खत्रीलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले खत्रीको कठालो समात्दै एकाएक कुटेको बताइन्छ । बिहानै गोकुलेश्वर बजार पुगेका बस चालकलाई बजार क्षेत्रमा हर्न बजाएको आरोपमा ट्राफिकले कुटेको प्रत्यक्षदर्शीको भनाई छ ।
‘किन हर्न बजाइस्’ भन्दै ठगुन्नाले बसबाटै कठालो समातेर चालकलाई बाहिर निकालेका थिए । त्यसपछि कालो बुट लगाएका ठगुन्नाले लात्ति हान्दै नजिकैको अस्थायी प्रहरी पोष्टमा पुर्याएका हुन् । ‘हर्न बजाएको निहुँ खोज्दै बसबाटै कठालो समातेर बाहिर निकाली हातपात गरे,’ चालक खत्रीले भने, ‘बिहान ६ बजे महेन्द्रनगरबाट बस ल्याएर गोकुलेश्वर पुगेँ । बजारमा सवारी साधनको भीड थियो । बस पार्किङमा राख्दै गर्दा हर्न बजाएको थिएँ, त्यही निहुँमा मलाई बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै प्रहरी पोष्टसम्म पुर्याए,’ उनले भने ।
गोकुलेश्वरमा महेन्द्रनगर, धनगढीलगायत ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दूरीमा चल्ने सवारी ाधनको संख्या निकै थियो । सडकमै सवारी साधन रोकिएका थिए । खत्रीले बस पार्किङमा लैजाँदै गर्दा हर्न बजाएको बताउँछन् ।
चालकलाई ट्राफिकले कुटेपछि महाकाली यातायात, पवनदूत यातायातलगायत धेरै यातायात व्यवसायीहरुले बस, जिपहरु बिच सडकमा अड्याएर विरोध जनाएका थिए । उनीहरुले ट्राफिक हवल्दार ठगुन्नालाई कारबाही गर्नुपर्ने र सबैको अगाडि माफी माग्नुपर्ने माग राखेका थिए । ठगुन्नाले माफी मागेपछि यातायात सुचारु भएको हो ।
टिप्पणीहरू