‘समायोजनमा गइसकेका कर्मचारीलाई फिर्ता नपठाउनु’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रबमोजिम सबै स्थानीय तहलाई समायोजन भइसकेका कर्मचारीलाई फिर्ता नगर्न सूचित गरेको हो ।
मुलुकभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले प्रचलित कानूनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीलाई कानूनी व्यवस्था प्रतिकूल हुनेगरी फिर्ता गर्ने कानूनी आधार नभएकाले निजहरुलाई साबिकबमोजिम हाजिर गराई व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
‘केही स्थानीय तहहरुले कर्मचारी समायोजन ऐन, २०७५ र कर्मचारी समायोजन÷मिलानसम्बन्धी मापदण्ड, २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलासम्बन्धी व्यवस्था, २०७७ बमोजिम समायोजन तथा समायोजन मिलान भई कार्यरत स्वास्थ्य सेवातर्फका कर्मचारीहरुलाई समेत विभिन्न बहानामा फिर्ता पठाएको पाइएको,’ उल्लेख गर्दै परिपत्रमा लेखिएको छ, ‘प्रचलित कानूनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीहरुलाई कानूनी व्यवस्था प्रतिकूल हुनेगरी फिर्ता गर्ने कानूनी आधार नभएकाले निजहरुलाई साविकबमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन ।’
यसअघि स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा गत साउन १ गतेदेखि लागू हुनेगरी काज फिर्ता गर्ने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो ।
टिप्पणीहरू