उता शव अलपत्र, यता हाकिमहरु कोष दुरुपयोगमा मस्त

उता शव अलपत्र, यता हाकिमहरु कोष दुरुपयोगमा मस्त

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका एक युवकको शव अलपत्र परेको छ । दुई महिनाअघि सवारी दुर्घटनामा ज्यान गुमाएका सिरहाको गोलबजार नगरपालिका ११, बल्कवाका इस्तेखार अहमद खानको शव नेपाल ल्याइदिन परिवारले सरकारसमक्ष हारगुहार गरेका छन् । 

काठमाडौंस्थित साउण्डलाइन्स रिक्रुटमेण्ट प्रालिमार्फत् ड्राईभिङ भीसामा साउदी गएका उनी रियादस्थित मशान्द अलअमल फर कन्ट्रयाक्टिङ कम्पनीमा चालक पदमा कार्यरत थिए । सवारी दुर्घटनामा परेर उनी बितेपछि भाइ नाता पर्ने मोहम्मद असगर अलीले सहयोगका लागि विभिन्न सरकारी निकायमा हारगुहार गरेका हुन् ।

 तर, कसैले पनि चासो नदेखाएपछि उनी निराश बनेका हुन् । गत असार १५ गते वैदेशिक रोजगार बोर्डको सचिवालयमा त्यसबारे निवेदन दर्ता गराएका थिए । शव नेपाल ल्याउन कुटनीतिक पहल गरिदिन उनले निवेदनमार्फत आग्रह गरेका हुन् । त्यस्तै, उनले कन्सुलर सेवा विभागमा समेत लिखित निवेदन हालेको बताए ।

‘एक महिनाअगावै साउदीस्थित नेपाली राजदूतावासमा निवेदन दर्ता गरेका छौं । तर, अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेकोजस्तो लाग्दैन । प्रक्रिया अघि बढिरहेको छ भने पनि राजदूतले झुलाइरहेका छन्’, उनले भने ।

वैदेशिक रोजगार बोर्ड यस्तै कार्यमा सहयोग पुर्यायन गठन गरिएको हो । तर, विदेशमा रोजगारीमा गएकाले बुझाएको रकमबाट बनाइएको कोषको रकम उनीहरु बितेको अवस्थामा शव नेपाल ल्याउन वा अप्ठेरोमा परेको बखत खर्च गर्नुपर्ने हुन्छ । गत महिना बोर्डका हाकिमहरुले एनआरएनको सम्मेलनमा ओमान घुम्न सोही कोषको दुरुपयोग गरेका थिए । तर, नजिकैको साउदी अरेबियामा नेपाली युवकको शव अलपत्र परेको छ ।

टिप्पणीहरू