गगन थापाको चुनावी खर्च विवरणमा दुईथरि रकम,प्रक्रिया नबुझ्दा गल्ती
खर्च विवरण सार्वजनिक गरेर पनि निर्वाचन आयोगलाई जानकारी नगराउँदा जरिवानाको कारवाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले अर्को गल्ति गरेका छन् ।
चुनावी खर्च विवरण सार्वजनिक गर्नेसम्बन्धी आयोगले तोकेको प्रक्रिया पूरा नगरेका कारण जरिवानाको कारवाहीमा परेका उनले सार्वजनिक गरेको विवरणमा दुईथरि रकम राखेर त्रुटी गरेका हुन् । थापाले यसअघि नै सार्वजनिक गरिसकेको भनेर आज पुन: फेसबुकमा राखेको खर्च विवरणमा कूल २३, ४२,७६८ रुपैयाँ खर्च जनाइएको छ । जबकि अक्षरमा भने सोही खर्च तेइस लाख अठचालिस हजार सात सय पाँच रुपैयाँ उल्लेख छ ।
निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार जरिवाना गराउने आयोगको निर्णय सार्वजनिक भएपछि थापाले आज तोकेबमोजिमको जरिवना तिरेको समेत बताएका छन् । सोही क्रममा उनले यसअघि नै सार्वजनिक गरेको विवरण फेसबुकमा राखेका हुन् ।
उनले भनेका छन्, ‘मैलें निर्वाचन आयोगमा मिति २०७९-०८-२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर, यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने एक हजारभन्दा बढी प्रतिनिधिसभाका उम्मेदवारलाई निर्वाचन आयोगले हालै जरिवाना गर्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू