सहकारी पीडितद्धारा बृहत आन्दोलनको घोषणा, काठमाडौं ठप्प पार्ने चेतावनी

सहकारी पीडितद्धारा बृहत आन्दोलनको घोषणा, काठमाडौं ठप्प पार्ने चेतावनी

दुई महिनादेखि राजधानीमा आन्दोलनरत सहकारी पीडितहरुले बृहत विरोध प्रदर्शनको घोषणा गरेका छन् । 

निक्षेप फिर्तालगायातका माग्द राखी आन्दोलनमा उत्रिएका पीडितहरुले आउँदो साउन १८ गते प्रदर्शन गर्न लागेका हुन् । सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएपछि सबै सहकारीका पीडितहरु जम्मा भई काठमाडौं ठप्प पार्न लागेको एक पीडितले बताए । 

माइतीघरमा धर्ना दिएर मात्रै समाधान नपाउने देखिएको उल्लेख गर्दै उनले भने,‘सरकारले सजिलोसँग सहकारी दर्ता गर्न दियो । तर, प्रभावकारी नियमन नगर्दा हामी डुब्यौं । एकपछि अर्को गर्दै सबै सहकारी भागिरहेका छन् । संघर्ष समिति बनाएर आन्दोलन थालेको महिनौं बितिसकेको छ । तापनि, सरकारले हाम्रो समस्या समाधानार्थ चासो देखाएको छैन् ।’

सहकारी पीडित बचतकर्ता संघर्ष समिति महासंघमा हजारौं पीडित जोडिएका छन् । उनीहरुले माइतीघरमा बसेर सरकारसमक्ष आफ्नो पीडा पोखिरहेका छन् । सहकारीका मालिक फरार भएपछि आफ्नो छोराछोरीको स्कुलको शुल्क तिर्न नसकेको भन्दै कतिपयले गुनासो गरिरहेका छन् । 

ओरेन्टल, देउराली, प्लसप्लस, खुशी, कान्तिपुर, सिभिल, सुमो, उत्तम, गेट–वे, लसकुश, सन्ध्या, शिव शिखर, शुभकार्य, प्रज्ञान, स्वस्तिक, लजगा, ओसिन, हाम्रो नयाँ कृषि, नेशनल डेभलपमेन्ट, इमेज, बराहा, गुडविल, अष्टलगायत सयौं सहकारीका सञ्चालक फरार छन् । 

मुलुकभरका ७३ लाख सहकारी पीडितका करिब ६५ अर्ब रुपैयाँ सहकारी सञ्चालकले अपचलन गरेको सहकारी विभागले जनाएको छ । पीडितहरुले सहकारीको नाममा ठगी गरेर भागेका सहकारी सञ्चालकलाई कारबाही गर्नुपर्ने, आफूहरुले खाईनखाई जम्मा गरेको निक्षेप फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् । 

सहकारी पीडित संघर्ष समिति महासंघले गत जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुस निकालेका थिए भने साउन १ गतेदेखि थालेको रिले अनशन जारी छ ।
 

टिप्पणीहरू