मणिपुरमा दर्दनाक अवस्थाको अन्त्य कहिले ?

मणिपुरमा दर्दनाक अवस्थाको अन्त्य कहिले ?

भारतको पूर्वोत्तर राज्य मणिपुर, यतिबेला साम्प्रदायिक हिंसामा लपेटिएको छ । राज्यका दुई जातीय समूह मैतेई र कुकी एकापसमा भिडिरहेका छन् । 

गत मे ४ का दिन एउटी २१ वर्षीया युवतीसहित दुई जना महिलालाई मैतेई समुदायको भीडले नाङ्गै घुमाएको थियो ।

क्रूर मैतेईहरूले ती युवतीलाई सामूहिक बलात्कारसमेत गरेका थिए । युवतीको हालत देखेर पीडितकी आमा गहिरो शोकमा रहेको बताइन्छ । मैतेईहरूको डर सर्वत्र व्याप्त छ । युवतीलाई कुकीहरूले अझै गुप्त स्थानमा लुकाएका छन् । 

तर पीडितकी आमा चुराचान्दपुरमै छिन्, उनी दिनभर रोइरहन्छिन् । अनि आँशु खसाल्दै भन्छिन्, ‘मभित्र छोरीलाई भेट्ने हिम्मतसमेत छैन ।’ 

मणिपुरमा गत ३ मेदेखि साम्प्रदायिक हिंसा सुरु भएको हो । उपत्यकाबासी मैतेई र पहाडी क्षेत्रका कुकी समुदायका स्थानीयबीच दंगा मच्चियो । सबैतिर बंकर बनाइयो । दुवैतिरका सर्वसाधारण बन्दुक बोकेर टोल–टोलमा तैनाथ भएका छन् । उनीहरु अहिले पनि भिडिरहेका छन् । 

मणिपुरमा मच्चिएको नरसंहार जारी छ । तर महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडियो भाइरल भएपछि मणिपुर हिंसाका अन्य कैयौं घटना बाहिरिएका छन् । 

पछिल्लो तीन महिनामा आफ्ना श्रीमान् र पहिलो सन्तान गुमाएपछि ती आमालाई जिन्दगी अपूरोजस्तै लागेको छ । अब उनीसित १८ वर्षका छोरा र बलात्कार पीडित छोरी मात्र बाँकी छन् । अरु सबैलाई मणिपुर हिंसाले निलेको छ ।

नाक पुछ्दै, हातका औँला पड्काउँदै ती आमाले भनिन्, ‘मे ४ पछि मैले छोरीसँग कुराकानी गर्ने हिम्मतसमेत गरेकी छैन । उसलाई भेटेकी पनि छैन । दुई मिनेट एक्लै बस्दा पनि रुन मन लाग्छ । मान्छे आउँछन्, बारम्बार सम्झना दिलाउँछन्, म डिप्रेसनमा छु । कसैसँग कुरा गर्न मन छैन । कसैको अनुहार हेर्ने पनि मन छैन ।’

सामूहिक बलात्कारपछि बाँचेकी २१ वर्षीया युवतीलाई स्थानीय कुकी नेताहरूले सुरक्षित स्थानमा लगेर राखेका छन् । तर उनी यौन हिंसाको पीडाबाट छट्पटाइरहेकी छन् । उनी एक्लै र मणिपुरलाई भुलिसकेकी छन् । तर त्यो घटनाले उनलाई तर्साइरहन्छ । आमा भन्छिन्, ‘मणिपुर जलेको तीन महिना पुग्नै लाग्यो । सामाजिक कार्यकर्ता र मिडियाकर्मी आए । तर अहिलेसम्म मणिपुर सरकारबाट एकजना मन्त्री वा अधिकारी आएका छैनन् । मुख्यमन्त्रीले फोनसमेत गरेनन् । मलाई कस्तो छ भनेर कोही सोध्नसमेत आएनन् । मैले हिम्मत हारिसकेँ, अब यो कहालीलाग्दो कथा सुनाउन सक्दिनँ ।’

बलात्कार पीडित युवतीको घरपरिवार गरीबीसँग जुँधिरहेको छ । युवतीका बुबाले चर्चमा सानोतिनो काम गर्थे । तर के गर्नु बुबाको गिर्जाघरमै र जेठो दाइको मैतेई समूहको भीडले हत्या गर्यो । जबकि परिवारमा कमाउने उनै बुबा र जेठो दाइ थिए । अब परिवारको अन्तिम आशा बनिरहेका छन् १८ वर्षका भाइ ।

उनी सेनामा भर्ती हुन चाहन्छन् । आमाको छेउतिर भए पनि उनी केही बोलेनन्, तरकारी काटिरहे । पीडित युवती एयर होस्टेस बन्न चाहन्थिन्, आमा भन्छिन्, ‘अब छोरीको एयर होस्टेस बन्ने सपना सपनामै सीमित रह्यो ।’

(यो सामग्री भारतीय पत्रिका ‘दैनिक भास्कर’ को सहयोगमा तयार पारिएको हो ।)

टिप्पणीहरू