दर्जनौं आरोप लागेका सञ्जीवको दाबी, ‘सबै झुठा हुन्’
सिरहाको धनगढीमाई नगरपालिका ४, भंगाहाका सञ्जीवकुमार साहले आफूमाथि लागेको आरोप झुठो भएको दाबी गरेका छन् । उनले पचासौं दलित घरपरिवारको उठीबास लगाएको, नक्कली मीटरब्याज पीडितको ढोंग रचेको, ऋण दिनेहरुलाई नै मीटरब्याजीको आरोपमा थुनाएकोलगायत समाचार छापिएपछि आज उनले आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन् ।
सिरहामा उनकी श्रीमती बबिताकुमारी साहको नाममा मोडल नेपाल कृषि फर्म प्रालि सञ्चालित छ । उक्त फर्मले दलित परिवारका चार दर्जन घरपरिवारको बिल्लीबाठ बनाएको बताइन्छ । फर्ममा काम गर्ने कामदारहरुलाई तलब नदिएपछि उनीहरु कामको खोजीमा भारत पुगेको र फर्मको नाममा सञ्जीवले २४ करोड रुपैयाँ अनुदान स्वीकृत गराएको स्थानीयको आरोप छ ।
यद्यपि, उनले कुनैपनि संस्थाबाट एक रुपैयाँ पनि अनुदान नलिएको ठोकुवा गरेका छन् । साथै, फर्ममा काम गर्ने कामदारको पनि हिसाबकिताब चुक्ता गरिसकेको प्रेषित पत्रमा उल्लेख छ । गोलबजारका पप्पु साह, अरुण सिंह, भुवनेश्वर साह र नरेश जैनलगायतसँग उनले एक करोड रुपैयाँ सापटी लिएका थिए ।
चेक धरौटीमा ऋण दिएका उनीहरु आफ्नो पैसा फिर्ता माग्दा जेल पुगेको आरोप सञ्जीवमाथि लागेको हो । आफूहरुलाई मीटरब्याजीको नाममा पक्राउ गराएको साह र जैनहरुको भनाई छ । उनीहरुले हालसम्म आफ्नो पैसा फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । यता, सञ्जीवले भने बैंकमार्फत सबैको ऋण फिर्ता गरिसकेको दाबी गरेका छन् ।
साथै, उनले वडा नम्बर ४ का वडाध्यक्ष ओम यादवले भनेका कुराहरु सबै झुठो भएको जानकारी दिए । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न वडाध्यक्ष यादवलाई चुनौतीसमेत दिएका छन् । त्यस्तै, आफूले आत्महत्याबारे कुनै धम्की नदिएको बताए ।
उनले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख एसपी टेकानन्द ईवा लिम्बुको ज्यादती र दमन सहन नसकेको कारण सम्पूर्ण परिवार आत्महत्या गर्न बाध्य हुनेछ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले आफूलाई चेकको विषयमा अपमान गरेपछि उक्त पत्र लेखेको सञ्जीवको प्रष्टीकरण छ ।
टिप्पणीहरू