पुल्चोक क्याम्पसका डिनविरुद्ध उजुरी, लाइसेन्स नलिएको आरोप
इन्जिनियरिङका लागि उत्कृष्ट शैक्षिक संस्था मानिने पुल्चोक क्याम्पसका वर्तमान डिन राशीधर राम जोशीविरुद्ध उजुरी परेको छ ।
इञ्जिनियर भैरव धितालले उनको लाइसेन्स छानबिन गर्न माग गर्दै हिजो नेपाल इञ्जिनियरिङ परिषद्मा उजुरी दिएका हुन् । डिन जोशीले बिना लाइसेन्स अध्यापन गराएको उजुरीकर्ताको दावी छ ।
इञ्जिनियरिङ विषय अध्यापनका लागि परिषद्बाट अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै उजुरीकर्ताले लाइसेन्स नलिएका जोशी डिन हुनका लागि अयोग्य रहेको जिकिर गरेका छन् ।
‘इञ्जिनियरिङ विषय अध्यापनका गर्न–गराउन अघि परिषद्बाट अनिवार्य रुपमा इञ्जिनियरिङ लाइसेन्स लिनुपर्ने व्यवस्था देखिएकोमा इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका हालका डिन राशीधर राम जोशीले नै इञ्जिनियरिङ परिषद्बाट लाइसेन्स नलिएको कारणले गर्दा निज अध्यापन गराउन र संस्थानको डिन हुनका लागि योग्यता नपुगेको’, उजुरीपत्रमा उल्लेख छ ।
उजुरीकर्ताले लाइसेन्स छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
टिप्पणीहरू