प्रतिनिधि सभाको बैठक १ बजे, संवैधानिक परिषद्को ४ बजे

प्रतिनिधि सभाको बैठक १ बजे, संवैधानिक परिषद्को ४ बजे

पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हिजो बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । 

एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पूरा नभएसम्म बैठक सुचारु गर्न नदिएपछि हिजोको बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर आजको बैठक पनि सुचारु हुने सम्भावना क्षीण छ । यसबीचमा बैठक खुलाउने सम्बन्धमा कुनै पहल नभएको एमाले स्रोतले जनाएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख छ । हिजोको कार्यसूचीमा पनि सोही विषय थियो ।

यता संवैधानिक परिषदको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा आगामी प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने बताइएको छ । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आगामी शनिबारदेखि अवकाश पाउँदै हुनुहुन्छ । वरीयतामा विश्वम्भर प्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको लाइनमा हुनुहुन्छ । परिषद्को सिफारिसपछि संसदीय सुनुवाई र त्यसपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

टिप्पणीहरू