कमल थापासँग मिसिएका तारानाथको सडकमा आउन राजेन्द्र लिङ्देनलाई आह्वान
राप्रपाको अध्यक्ष हुन नपाएपछि राजा नमान्ने घोषणा गरेर एमालेबाट चुनाव लडेका कमल थापा पुनः राजसंस्था पुनस्र्थापनाको बाटोमा अघि बढेका छन् ।
तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता गरेका थापा आफैँले छोडेको राजसंस्थाको एजेण्डा फेरि बोक्न कस्सिएका हुन् । राष्ट्रियसभा गृहमा आज आयोजित एकता घोषणासभामा उनले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुङ्गा सावित हुने दाबी गर्दै पुरानै एजेण्डामा फर्किने संकेत गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई राप्रपाको अध्यक्ष हुन नदिएको आरोप लगाएर राप्रपा नेपाल ब्युँताएका उनी सो पार्टीको अध्यक्ष छन् । त्यसयता एमालेसँग हिमचिम बढाएका उनले सार्वजनिकरुपमै दर्जनौँ पटक आफू राजतन्त्रको पक्षमा नलाग्ने बताएका थिए । तर, राजेन्द्र लिङ्गदेनको राप्रपाले राजा फर्काउने एजेण्डा बिकाएर चुनाव जितेपछि रन्थनिएका उनी पछिल्लो समय गणतन्त्रको विपक्षमा लगातार लेखिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रप्रति मोहभंग भइसकेको सार्वजनिक अभिव्यक्ति दिएका थापा सोहीकारण राजसंस्थाको पक्षमा खुलेर भने अझै लाग्न सकेका छैनन् । यद्यपि राजा फर्काउने अभियान चलाइरहेको लुईंटेल नेतृत्वको मोर्चासँग एकता गरेर उनले आफू राजतन्त्रको पक्षमा रहेको सन्देश दिएका हुन् ।
आजको कार्यक्रममा मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दुराष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । उनले विचार स्थापनाका लागि सडकमा आउन लिङ्गदेनलाई मञ्चबाट आह्वानसमेत गरे ।
टिप्पणीहरू