कोशीका मुख्यमन्त्रीले शपथ खाए,सभामुख त्यागेका गौतम अर्थमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ खाएका उनी यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थिए,२७ दिनमा आज दोस्रो पटक शपथ खाएका हुन् ।
त्यतिबेला सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थापाको नियुक्ति अदालतले उल्ट्याइदिएको थियो । त्यसपछि हिजो सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सांसदको समर्थनमा थापा पुन: मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री थापाले शपथ लिएलगत्तै कांग्रेस,सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक-एक जनालाई समेटेर चार सदस्यीय क्याबिनेट गठन गरेका छन् । जसमा सरकार गठनमा योगदान गरेका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी माओवादीको कोटामा मुख्यमन्त्रीपछि वरियताको मन्त्री बनेका हुन् ।
त्यस्तै,एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारले पनि आजै शपथ लिएका छन् ।
टिप्पणीहरू