प्रधानमन्त्रीका सल्लाहकारसँग केपी ओलीको केरकार

प्रधानमन्त्रीका सल्लाहकारसँग केपी ओलीको केरकार
सुन्नुहोस्

एमाले अध्यक्षलाई सूचनाको कतिसम्म अभाव रहेछ भन्नका निम्ति अध्यक्ष केपी ओलीका अभिव्यक्ति आफैँमा प्रमाण हुन् ।

कम्बोडियाबाट स्वदेश फर्किनेबित्तिकै त्रिभुवन विमानस्थलमा नयाँ पत्रिकाविरुद्ध खनिनुभयो । एक क्विन्टल सुन तस्करी प्रकरणमा आफूविरुद्ध समाचार र फोटो छापेको आरोप उहाँको थियो । जबकि नयाँ पत्रिकाले उहाँको फोटो र प्रसंग छापेकै थिएन । न समाचारमा उहाँको नामै थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले दिपक मलहोत्रासँग आफ्नो फोटो जोडेर गरेको प्रचारलाई आधार बनाउँदै ओली मिडियाविरुद्ध आक्रामक बन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर हप्तौँ सदन अवरुद्ध पार्दा पनि पार नलागेपछि एमाले अहिले गृहमन्त्री हटाउनुपर्ने मागमा अडिग छ । त्यसका लागि सदन अवरोध गरिरहेकै छ । तर, नारायणकाजी श्रेष्ठको राजीनामा मागेर सदन अवरुद्ध गर्ने कदम एमालेकै लागि प्रत्यत्पादक बन्दै छ ।कतिसम्म भने शनिबार पार्टीको एउटा कार्यक्रममा ओलीले प्रचण्डले एमाले रित्याएर माओवादीतिर फर्किएको आरोप लगाउनुभयो । भोलिपल्टै आइतबार उनै प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएका उहाँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यसँग झोंक्किनुभयो ।

प्रधानमन्त्रीसँगको भेटबारे जथाभावी समाचार टिपाएको भन्दै असन्तुष्ट देखिनुभएका ओलीले केरकार शैलीमा सोध्नुभयो, ‘के न्युज पठाउने हो त आज ?’ बैठकपछि बाहिरिने क्रममा उहाँले त्यसरी प्रधानमन्त्रीका सल्लाहकारलाई ‘के न्युज जान्छ आज बालुवाटारबाट’ भनेर सोधेको नजिकै रहेका अरूले पनि सुनेका थिए । पछि गोविन्दले अरुलाई बोलाएर भने, ‘हामी सत्तापक्ष हो, जिम्मेवार हुनुपर्छ, भेटघाट सौहार्द्रपूर्ण रह्यो भनेर संक्षिप्त समाचार बनाइदिम ।’ तर, कुरा बाहिर आइहाल्यो, ‘प्रधानमन्त्रीका सल्लाहकारसँग केपी ओलीको केरकार ।’


 

टिप्पणीहरू