प्रतिनिधि सभाको बैठकअघि सभामुखले तीन ठूला दलका शीर्ष नेतासँग छलफल गर्ने
संसदमा दुई सातादेखि जारी अवरोध खुलाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलका नेताहरुसँगको बैठक आह्वान गर्नुभएको छ । उहाँले आज मध्यान्ह १२ बजे आफ्नो कार्यकक्षमा बोलाइएको बैठकमा तीन ठूला दलका शीर्ष नेतालाई बोलाउनुभएको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुहुनेछ । उहाँहरुसँगै तीन दलका प्रमुख सचेतक र सचेतकलाई पनि सहभागिताको निम्ति बोलाइएको छ ।
एमालेले साउन ३ गते सार्वजनिक भएको सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दैै साउन १० गतेदेखि लगातार संसद बैठक अवरुद्ध पार्दै आएको छ । त्यसपछिका बैठकहरु सूचना टाँसेर स्थगित भएका हुन् ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा यसअघिका बैठकमा तय भएको कार्यसूची यथावत छन् । जसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायत विषय छन् ।
टिप्पणीहरू