कम्बोडियामा ४० वर्षपछि सत्ता छाेराकाे जिम्मामा

कम्बोडियामा ४० वर्षपछि सत्ता छाेराकाे जिम्मामा
सुन्नुहोस्

कम्बोडियामा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । निवर्तमान प्रधानमन्त्री हुन सेनले छोरा हुन मानेटलाई पद हस्तान्तरण गरेपछि राजा नरोध्दम सिंहामोनीले आज मानेटलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राजाले जारी गरेको शाही आदेशमा भनिएको छ, ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा. हुन मानेटलाई नियुक्त गरिएको छ ।’ अब ४५ वर्षीय मानेटले अगष्ट २२ तारिखका दिन संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । 

गत महिना कम्बोडियामा भएको चुनावमा आफ्नो पार्टी कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमत ल्याएपछि विश्वमा सबैभन्दा लामो समय सत्ता सञ्चालन गरेका प्रधानमन्त्री हुन सेनले जेठा छोरालाई सत्ता हस्तान्तरणको घोषणा गरेका थिए । तर विपक्षी दलहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । 

अमेरिका,युरोपेली युनियन,संयुक्त राष्ट्रसंघलगायत मुलुक र संस्थाले उक्त निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन् । नेपालको तर्फबाट भूतपूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको टोली कम्बोडियाको आमनिर्वाचन पर्यवेक्षणमा गएको थियो ।
 

टिप्पणीहरू