आफूविरुद्ध मिडिया गिरोह संगठित रुपमा लागेको ल्हारक्यालको आरोप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा हिजो नियुक्त ल्हारक्याल लामाले आफूविरुद्ध नेपाली मिडिया गिरोहको रुपमा संगठित हिसाबले पछि लागेको आरोप लगाएका छन् । केही मिडियाले निम्नस्तरमा उत्रेर आफ्नो चरित्रहत्या गरेको लामाको दाबी छ ।
मन्त्रिपरिषद,प्रधानमन्त्री र मन्त्रीले योग्य ठानेर आफूलाई उक्त पदमा नियुक्त गरेको लामाको भनाई छ । ‘ केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहीबेला मविरुद्ध यस्ता लाञ्छना लगाउने गिरोह र मिडिया सँधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात हुन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले अगाडि लेखेका छन्, ‘जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन् ।’
उनी आफैैंले मिडियाले नागरिकता,सम्पत्ति शुद्धिकरण,हतियार र ठगीको विषय उठाएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ती आरोपबाट सफाई पाउन आफूले मृत्यु नै रोज्नुपर्ने हो ? भनेर उनले प्रश्न गरेका छन् । आफ्ना हालसम्मका गतिविधि सबै बुद्ध धर्म,आस्था र चरित्रसँग मेल खाने दाबी गर्दै ल्हारक्याल लेख्छन्, ‘बुद्धका उपदेशबाट एक इञ्च दायाँबायाँ गरेको छैन ।’
तर, उनले जे जस्तो स्पष्टीकरण दिए पनि लकरमा गोली राखेको, नागरिकतामा उनको नाम अगाडि डा.उल्लेख गरिएको विषयमा सञ्चार माध्यमले सप्रमाण प्रस्तुत गरिसकेका छन् ।
टिप्पणीहरू