एमाले कार्यालयमा खोलो पस्यो
ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ ।
मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै रिमालले लेखेका छन्, 'बर्षाको बिध्वंशले यसपाली पनि एमाले केन्द्रीय कार्यालयमा क्षति पुऱ्यायो ।'
अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ ।
हिजो रातिदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि बहाव घटेको छ ।
टिप्पणीहरू