सेनामा ठूलाबडाको जिम्मेवारी फेरबदल
नेपाली सेनाका केही जर्नेलको पुनः सरुवा भएको छ । पछिल्लो पटक साउन १६ गते भएको सरुवाको पहिलो नम्बरमा सहायक रथी सन्तोषबल्लभ पौडेल रहेका छन् । उनलाई शान्ति कार्य निर्देशनालयबाट चिफ अफ स्टाफ,पश्चिम पृतना हेडक्वार्टर लगिएको छ ।
त्यस्तै उत्तर पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी मधुकरसिंह कार्कीलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको केन्द्रपति बनाइएको छ । पश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर वीरेन्द्र अस्पतालमा काजमा रहेका अर्का सहायक रथी ध्रुवप्रकाश शाहलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा राखेर सोही अस्पतालमा खटाइएको छ ।
सहायक रथी प्रेमबहादुर पुनलाई आपूर्ति तथा परिवहन निर्देशनालयबाट शान्ति कार्य निर्देशनालयको निर्देशक बनाइएको छ । साथै उनलाई आफ्नो कार्यको अतिरिक्त आपूर्ति तथा परिवहन निर्देशनालयमा समेत काम गर्नेगरी निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।
उता सुदूर पश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ । तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ ।
नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई चिफ अफ स्टाफ, उत्तर पश्चिम पृतना हेडक्वार्टरमा लगिएको प्राप्त विवरणमा उल्लेख छ । लक्ष्मण थापालाई नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएको अवस्थाबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा ल्याइएको छ ।
चरक बाहिनीका सहायक रथी सुरत रावललाई चिफ अफ स्टाफ, सुदूर पश्चिम पृतना हेडक्वार्टरमा खटाइएको छ । उनी बाहिनीमा रहेपनि सुदूर पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए । यस्तै माधव थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सैनिक सामग्री प्राप्ती निर्देशनालयमा दरबन्दी राखेर मध्यपश्चिम पृतना हेडक्वार्टरमा काज खटाइएको छ । उनी यसअघि सुरक्षा परिषद्को सचिवालयमा दरबन्दी रहेपनि मध्य पश्चिम पृतना हेडक्वार्टरमा काजमा थिए ।
टिप्पणीहरू