संसद चल्न एमालेले आज पनि दिएन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।
एक क्विन्टल सुन तस्करीको छानविनका लागि उच्चस्तरीय संसदीय आयोग गठनको माग गरेर लामो समयदेखि संसद अवरुद्ध पार्दै आएका सो पार्टीका सांसदहरुले आज पनि बैठक चल्न नदिएका हुन् ।
सभामुख देवराज घिमिरेले आज बैठक शुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाए । वेल घेराउ गर्दै नारावाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख घिमिरेले आ-आफ्नो स्थानमा बसेर संसद सुचारु गराउन पटक-पटक आग्रह गर्नुभयो । तर, उनीहरुले मानेनन् ।
त्यसपछि पर्सिसम्मका लागि बैठक स्थगित गरिएको छ । एमालेले हिजो सदन खुलाउन सहमति गरेको थियो । तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन: अवरोधमा उत्रिएको हो ।
संसद खुलाउन सभामुख र प्रधानमन्त्रीसहित प्रमुख पार्टीका शीर्ष नेताहरुले केही दिनयता लगातार छलफल गरिरहेका छन् । आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो ।
टिप्पणीहरू