सिडियो कार्यालयको विज्ञप्ति, पत्रकार महासंघको आपत्ति

सिडियो कार्यालयको विज्ञप्ति, पत्रकार महासंघको आपत्ति
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालयको फोटो खिच्न र भिडियो बनाउन रोक लगाएको छ । सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति कार्यालय परिसरको फोटो–भिडियो खिचेर सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेको, कर्मचारीको व्यक्तिगत गोपनीयताको हक र कार्यालय सुरक्षा संवेदनशीलतामा असर पुर्याएको उल्लेख गर्दै प्रशासनले फोटो–भिडियो खिच्न रोक लगाइएको उल्लेख गरेको छ । 

प्रशासनले विज्ञप्ति जारी गर्दै फोटो–भिडियो खिच्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ । यता, नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले प्रशासनको उक्त सूचनाप्रति आपत्ति जनाएको छ । सिडियो कार्यालयको फोटो–भिडियो खिच्न र पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन गर्न रोक लगाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले बताएको छ । 

प्रशासनको सूचना ‘शाहीकालीन उर्दी’ झैं भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘प्रेस स्वतन्त्रताविरोधी कुनै पनि उर्दी हामीलाई मान्य छैन । जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाइनु र विभिन्न मुद्दा मामिला मिलाउने नाममा आम जनतामाथि धाक–धम्कीदेखि धरपक्कडसम्मको गतिविधिले समग्र जिल्लाबासीलाई प्रहरी–प्रशासनबाटै असुरक्षित बनाइदिएको छ ।’

महासंघले उक्त उर्दीपूर्ण सूचना फिर्ता लिएर प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेण्टी गर्न माग गरेको छ । त्यस्तै, महासंघको आयोजनामा उक्त निर्णयको विरोधमा आज सिडियो कार्यालयबाहिर विरोध प्रदर्शन गरिएको छ । थप आन्दोलनका लागि छलफल भइरहेको महासंघ कोषाध्यक्ष नवीनकुमार गुप्ताले बताए ।

टिप्पणीहरू