कोशीमा ट्राफिक नियम उल्लंघनसँगै राजश्व बढ्यो
कोशी प्रदेशमा पनि अन्यत्रझैँ ट्राफिक नियम उल्लंघन गर्नेको संख्या ह्वात्तै बढेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा पर्नेको संख्या विगतको तुलनामा बढेको जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा तीन लाख एक हजार ८७१ वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए । त्यसअघिको आर्थिक वर्षभन्दा यो संख्या २४ हजार ४६९ ले बढी हो ।
आर्थिक वर्ष २०७७–०७८ मा दुई लाख ५४ हजार ३५४ वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए । सोबाट १५ करोड ९७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ मा दुई लाख ७८ हजार सवारी साधन कारबाहीमा परेका थिए ।
कारबाहीबाट १८ करोड एक लाख ५९ हजार रुपैयाँ राजश्व उठाएको हो । गत आर्थिक वर्षमा कार्यालयले २० करोड सात लाख ३५ हजार रुपैयाँ राजश्व उठाएको छ । प्रदेशमा गत वर्ष तीन हजार ५१० वटा सवारी साधन दुर्घटना भएको थियो । दुर्घटनामा ४१२ जनाले ज्यान गुमाएका थिए भने पाँच हजार ६०७ जना घाइते भएका थिए ।
२०७९–८० मा तीन हजार ८२० वटा सवारी दुर्घटना हुँदा ५३१ जनाको मृत्यु र ६ हजार ६४८ जना घाइते भएका थिए । २०७७–०७८ मा कोशीमा तीन हजार १३१ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा ४४४ जनाको मृत्यु र चार हजार ८७६ जना घाइते भएका थिए ।
टिप्पणीहरू