प्रधानमन्त्रीका कान्छा ज्वाईंमाथि सँधै एउटै आरोप

प्रधानमन्त्रीका कान्छा ज्वाईंमाथि सँधै एउटै आरोप
सुन्नुहोस्

-पीताम्बर नेपाली

जीवन आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का कान्छा ज्वाईं हुन् । मोरङको निर्वाचन क्षेत्र ६ (१) बाट प्रदेश सभामा निर्वाचित सांसद उनीमाथि पार्टीमा कुनै योगदान नगरेको,जनयुद्ध नलडेको र अध्यक्षको छोरीज्वाईं भएकै कारण विभिन्न अवसर दिइएको आरोप छ । यस्तोलाई एकैचोटी केन्द्रीय सदस्य बनाइएको र चुनावमा टिकट दिएर सांसद, त्यसपछि पटक पटक मन्त्रीको जिम्मेवारीमा राखी राजकीय पदमा जाने अरुको अधिकार खोसेको आरोप पनि लाग्ने गरेकै छ । 

माओवादीभित्रकै केही नेता र सांसदले उनलाई देखि सहँदैनन् । मिडियाले पनि प्रचण्डको ज्वाईं भएकै कारण उनलाई परिवार र फरियावादसँग जोडेर समाचार बनाएको देखिन्छ । पछिल्लो समय काँग्रेस प्रदेश सभा संसदीय दलका नेता उध्दव थापालाई दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरिँदा जीवनको कारण सपथग्रहणको समय सारिएका समाचार पनि बाहिर आए । 


 
२०७४ को निर्वाचनमा पराजय भोगेका उनले गत मंसिरको आमनिर्वाचनमा एमालेकी रिता न्यौपानेलाई पराजित गरेका थिए । जीवन गत पुसदेखि असारसम्म दुई पटक मन्त्री भए । एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पहिलो पटक उनी उद्योग, वन,वातारण तथा पर्यटन मन्त्री थिए । त्यसबेला छ महिनामात्र मन्त्री बन्न पाए । कार्की नेतृत्वको सरकार ढलेपछि काँग्रेसका उध्दव थापा मुख्यमन्त्री बने । त्यसमा कोशी प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भए । अदालतले थापालाई पदमुक्त गरेपछि आचार्य स्वयम् मन्त्रीबाट हटेका हुन् । 

थापा साउन १६ गते फेरि मुख्यमन्त्री नियुक्त भए । त्यसपटक भने आचार्य मन्त्री बनेनन् । उनले सभामुखबाट राजीनामा गरेका ओखलढुंगाका सांसद बाबुराम गौतमलाई आर्थिक मामिलामन्त्री बन्न सहयोग गरेको आचार्य निकटहरुको भनाई छ । उनै आचार्यले विराटनगर,बूढीगङ्गा र ग्रामथान गाउँपालिका भएर बन्नुपर्ने तर २६ वर्षदेखि अलपत्र रिङरोड सम्पन्न गर्ने आफ्नो योजना रहेको बताएका छन् । 

झण्डै पाँच अर्ब लागत अनुमान गरिएको ४३ किलोमीटर लामो चक्रपथको निम्ति उनले ३० करोड जुटाएको भनिएको छ । त्यो भनेको उक्त चक्रपथ वरपर नाली बनाउन पनि अपुग हुने रकम हो ।   

आचार्य समर्थकहरु भन्छन्, ‘२०७४मा चुनाव हारेर कुनै राजकीय पदमा पुग्न नसके पनि  उनले १६ करोड बढीका योजना ल्याएर मतदाताको सेवा गरेका थिए ।  गाउँ छाडेर जान लागेको बूढीगंगा ७ आदिवासी चोकस्थित सशस्त्र प्रहरीको बेस क्याम्प रोक्न लगाए । निर्वाचन क्षेत्रमा आफनै खर्चमा गाउँ गाउँमा कच्चीपक्की बाटाहरु बनाइदिए । १२ वर्षदेखि बिजुली नपुगेको गाउँमा गुणस्तरीय ट्रान्सफरमरहरु जडान गरेर झलमल्ल पारिदिए ।’

थारु समुदायको बाक्लो बसोवास रहेको मोरङ ६ (१) मा आचार्यले दोस्रो निर्वाचनमा विकासप्रेमी युवा नेताको परिचयमा चुनाव जित्न सफल भएको उनीहरुको दाबी छ । हुनतः उनी दुर्गम पहाडी जिल्ला खोटाङमा जन्मेका थिए । आर्थिक अभावका कारण परिवार तराई झरेको थियो । विराटनगरमा कम्प्युटर इन्ष्च्यिुट खोलेर पढाउन थालेका उनले अर्थशास्त्र र राजीतिशास्त्रमा एमए गरेका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगासँग उनको विवाह भएपछि माओवादी राजनीतिमा सक्रिय बने । त्यसपछि उनीमाथि परिवारवाद र फरियावादको आरोप भित्रैबाट लाग्न थालेको हो । 

मोरङको क्षेत्र नम्बर ६ (१) अझै पनि विकासमा निक्कै पछाडि छ । अशिक्षा र गरिबी सो क्षेत्रको मुख्य समस्या हो । नदीको कटान र डुबान समस्या पनि उस्तै छ । सीमान्तकृत थारु समुदायको बाहुल्यता भएको सो क्षेत्रमा अन्धविश्वास हावी छ । सुकुम्बासी समस्या ठूलो चुनौती बनिरहेको छ । जातीय विभेद र छुवाछुतप्रथा व्यवहारमा अझै छ । यी सबैको अन्त्यका लागि उनै आचार्यको नेतृत्व आवश्य रहेको बुढीगंगा गाउँपालिकाका पूर्व अध्यक्ष बलभद्र सरदारको बुझाई छ ।
 

टिप्पणीहरू