रूपान्तरण
-युवराज अधिकारी
एक पटक केवल एक पटक
र, बाजे–बज्यैहरुमा
आफूलाई रूपान्तरण गरी
गहिरो सास लिएर
निमेषभरका लागि
छाती छाम्दा....
अदम्य उत्साह र जोश बोकेका
तन्नेरीहरु
समयले आग्रह गरेको छ
अनुनय/विनय गरेको छ
ताकी संस्कार, सभ्यता
इतिहास र संस्कृति पनि
केही चीज हो,
डोको, नाम्लो र दाम्लोको नक्सा देखाएर
हाजिरीजवाफमा सोध्दा
पास पास गर्ने पुस्तालाई
बाजेहरुले समातेका
हलो, कुटो र कोदालाहरु
आफ्नै बज्यैहरुले समातेका
ढिकी जाँतो र अगेनाहरुमा पनि
स्वाभिमानको सुभाष थियो भनेर
इतिहासको यो घडीले
झकझकाउनुपर्छ,
बिउँझाउनुपर्छ
यद्यपि तिनमा
डिजिटल, र्याप, पप र ट्याटुको
आभास थिएन होला
मुन्द्रे संस्कारको मात्र होइन
टाई, सुटधारी पिएचडी साबहरुका
धरती बिर्सेका सोचले
गाँजेको थिएन होला
फेसबुक र ट्वीटरका
राम्रा/नराम्रा
कपी पेस्टको प्रवाह थिएन होला
तरपनि
जीवन र जगतप्रतिको
माटो र मुटुप्रतिको
चेत थियो
जो स्वाधीन अस्तित्व र सन्ततिका खातिर
माटो र मुटुको स्पन्दनलाई चुमेर
स्वाधीनता र स्वाभिमानको
सगरमाथामा
सदैव बाँचेका छन् ।
तिनकै सामु जो बाँचेर पनि
हरक्षण मरिरहेछन्
सायद,
संस्कार, संस्कृति र अस्तित्वको
अनुपम मेल
खुकुरीको धारमा मात्र होइन
स्वाभिमानको आभामा पनि उभिएको हुन्छ
यसैले त,
युवा, जोश र जाँगरका
देदीप्यमान ज्योतिहरुलाई
देशको माटोले गुहारिरहेछ
स्वः अस्तित्वको निमित्त
तिम्रो नसा–नसामा बहने
रगतको थोपाहरुमा
स्वाभिमान बहनुपर्दछ
स्वाधीनता छचल्किनुपर्दछ
किनकि
देश तिम्रो मात्र होइन
पुर्खाको नासो र
भावी सन्ततिको पनि
स्वाधीनतापूर्वक बाँच्ने आधार हो ।
टिप्पणीहरू