मिल्यो सिरहाको पोखरी विवाद, टुंगियो धर्ना

मिल्यो सिरहाको पोखरी विवाद, टुंगियो धर्ना

मधेश प्रदेशमा निकै चासोको विषय बनेको सिरहाको नवराजपुर गाउँपालिकाको पोखरी ठेक्का विवाद टुङ्गिएको छ । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुको उपस्थितिमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा आज भएको छलफलले उक्त विवादलाई टुंगाएको बताइएको छ । 

योसँगै तीन दिन अघिदेखि असन्तुष्ट पक्षले जारी राखेको प्रहरी कार्यालय अगाडिको धर्ना पनि अन्त्य गरिएको घोषणा गरिएको छ । गाउँपालिकाको सार्वजानिक पोखरी टेण्डर आह्वानपछि विवाद उत्कर्षमा पुगेको थियो ।

सार्वजनिक पोखरीहरूको दरभाउपत्र खोल्ने दिन साउन १५ गते नवराजपुर गाउँकार्यापालिकाका कर्मचारी र टेण्डर प्रक्रियाप्रति असन्तुष्ट पक्षबीच भिडन्त भएको थियो । सो क्रममा गाउँपालिकाको आईटी शाखामा कार्यरत धर्मनाथ मण्डलको दाहिने हातको औंला भाँचिएको  थियो । ट्रयाक्टर चालक रामसागर राम, जनक यादव र सञ्जिव यादव पनि घाइते भएको बताइन्छ । ७२ वर्षीय हरेराम यादवको हात भाँचिएको छ ।

उनै यादवका छोरा रोशनले दिएको सञ्जीव यादवविरूद्वको ज्यान मार्ने उद्योगको जाहेरी इलाका प्रहरी कार्यालयमा दर्ता गरेपछि असन्तुष्ट पक्षले उक्त जाहेरी फिर्ता मागेको हो । त्यसपछि उनीहरुले प्रहरी कार्यालयमा धर्ना दिए र हिजो धर्नास्थलमै खाना खाए ।

उत्पन्न विवाद समाधान गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे  र  एसपी टेकुनन्द ईवा लिम्बुको उपस्थितिमा दुवै पक्षबीच छलफल हुने बताइएको थियो । तर काम विशेषले प्रमुख जिल्ला अधिकारी प्रदेश राजधानी जनकपुर गएपछि आजको बैठकमा एसपी लिम्बुमात्रै सहभागी भएका हुन् ।

छलफलमा नवराजपुर गाउँपालिका प्रमुख शिवउदगार यादव शिवा र वडाध्यक्षहरूको सहभागिता थियो । एसपी लिम्बुले विभिन्न पाँच बुँदामा मौखिक सहमति जुटेको बताए । जसअनुसार दर्ता भएको जाहेरीमा अनुसन्धान अघि बढाउने, वडा नम्बर २ का पूर्ववडाध्यक्षले पोखरीको नक्सा निकाल्न वर्तमान वडाध्यक्षको नक्कली हस्ताक्षर गरेको विषयमा छानबिन गर्ने, बिल्टु मोचिमाथि भएको कुटपिटबारे अनुसन्धान गर्ने, पूर्वाग्रही ढंगले कुटपिट गरिएको पाइएमा जाहेरी दर्ता गर्ने, सार्वजानिक पोखरी गाउँपालिकाको स्वामित्वमा ल्याउन प्रहरी प्रशासनले थप सहयोग गर्ने र झडपमा क्षति पुगेको स्काभेटरका विषयमा छलफल गरि निष्कर्षमा पुग्ने मौखिक सहमति भएको हो ।

दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको नवराजपुर शान्ति सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील मानिन्छ । यसअघि पहाडी जिल्ला सोलुखुम्बुमा प्रहरी प्रमुखको भूमिका निभाएका लिम्बू एसपीमा बढुवा हुनासाथ सिरहा सरूवा भएका हुन् ।

टिप्पणीहरू