थाइल्याण्ड र म्यान्मारका नेपालीभाषीको नयाँ खुशी
दशकौंदेखि ‘नेपाली जीवन’ बाँचिरहेका थाइल्याण्ड र म्यान्मारका नेपालीभाषी ‘गोर्खा’ हरू पनि यतिबेला सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ मा रमाइरहेका छन् । उनीहरू रमाउनुको एउटै कारण छ— खुशी कार्कीको खुशी । थाई नेपालीहरूको खुशी र, बर्मेली नेपालीहरूको खुशी ।
खुशी कार्की अर्थात् ‘म्यान्मा–थाई’ की नेपाली छोरी ‘मेरो डान्स युनिभर्स’ को ‘टप सिक्स’ मा परेकी छन् । थाइल्याण्ड र म्यान्मारको प्रतिनिधित्व गर्दै ‘रियालिटी सो’ मा सहभागी उनी छानिँदै–छानिँदै ‘टप सिक्स’ मा पुगेकी छन् ।
‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का लागि थाइल्याण्ड–अडिसनबाट छानिएका १६ प्रतिस्पर्धीमध्ये ‘मेरो डान्स युनिभर्स’ को शीर्ष ६ मा पर्ने उनी ‘म्यान्मा–थाई’ की एक्ली नेपाली चेली हुन् ।
खुशी कार्कीका पाइलाहरू थामिएका छैनन् । उनी ‘मेरो डान्स युनिभर्स’ को यात्रामा दौडिरहेकी छन् । संसारभरका ‘डायस्पोरा नेपाली’हरू उनको ‘खुशी’ मा इँटा थप्दै भोट गरिरहेका छन् । म्यान्मार, थाइल्याण्डका नेपाली भाषीले झैँ नेपालमै पनि एकैस्वरमा भनिएको छ, ‘खुशी कार्कीलाई भोट गरौं । अग्रिम बधाई छ खुशी कार्की । बधाई छ नेपाली छोरी ।’
थाइल्याण्ड र म्यान्मारमा ठूलो संख्यामा नेपालीमूलका नेपालीभाषीहरू छन् । दुईवटा विशाल देशमा नेपाली जातीय अस्तित्वको जर्गेना गर्दैछन् उनीहरू । खुशीलाई जिताउन थाई नेपाली संघले नेपाल, थाइल्याण्ड र म्यान्मारमा सांस्कृतिक अभियान नै थालेको छ ।
‘थाइल्याण्ड र म्यान्मारको प्रतिनिधित्व गर्दै खुशी कार्की मेरो डान्स युनिभर्सको टप सिक्समा पुगेकी छन् । उनलाई भोट गरिदिनुहोस् । हामीहरूका लागि यो खुशीको कुरा हो,’ सामाजिक सञ्जालमा दीपक पराजुलीले भने ।
थाई र बर्माका नेपालीभाषीहरू बर्सेनी नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन् । हप्ता दिनसम्म तीज र तिहार मनाउँछन् । म्यान्मार हुँदै थाइल्याण्ड प्रवेश गरेका नेपालीहरूले नेपाल झल्काइरहेका छन् । उनीहरूले जन्माएकी नेपाली छोरी हुन् खुशी कार्की ।
‘मेरो डान्स युनिभर्स’को ‘टप सिक्स’मा पर्न सफल भएकी खुशीलाई शीर्ष पाँचका लागि भोट दिन आग्रह गरेका छन् थाई–नेपाली संघका पूर्वअध्यक्ष तथा समाजसेवी कुमार कार्की । ‘खुशी कार्की थाइल्याण्ड र म्यान्मारकी प्रतिक हुन् । उनीजस्ता हजारौं प्रतिभा छन्, तर ठाउँ पाइरहेका छैनन् । हामीहरूले नेपाली मौलिक कला–संस्कृति, भाषा जोगाउन र फैलाउन महत्वपूर्ण भूमिका खेलेका छौं । नेपाली भाषा र संस्कृति जोगाएर नेपालीपन कायमै राखेका छौं,’ उनले भने ।
टिप्पणीहरू