नेविसंघले ‘भाडाको गुण्डा’ लगाएर कुटेको एमाले अखिलको आरोप

नेविसंघले ‘भाडाको गुण्डा’ लगाएर कुटेको एमाले अखिलको आरोप

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पब्लिक युथ क्याम्पसमा भएको घटनाप्रति विरोध जनाएको छ । 

गत बिहीबार स्ववियु अध्यक्षले अरु पदाधिकारीहरुसँग सल्लाह नगरी कार्यक्रम आयोजना गरेको र त्यसको विरोध गर्दा आफ्ना कार्यकर्तामाथि नेविसंघ समर्थकहरुले आक्रमण गरेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले उक्त कार्यक्रममा क्याम्पस प्रमुख बलराम थापाको सहयोगमा हतियारसहितका भाडाका गुण्डाहरु ल्याएर आक्रमण गरिएको दाबी गरेका छन् । 

आक्रमणबाट स्ववियु सचिव निराजन विक्रम शाही, कोषाध्यक्ष प्रेमराज पनेरु, सदस्य सुनिल थापा, अनेरास्ववियुका नेता आदित्य भण्डारीसमेत घाइते भएकोमा उल्टै उनीहरुलाई नै पक्राउ गरिएको बडालले बताए ।  

‘उक्त आक्रमणबाट स्ववियु सचिव निराजन विक्रम शाही, कोषाध्यक्ष प्रेमराज पनेरु, सदस्य सुनिल थापा, अनेरास्ववियुका नेता आदित्य भण्डारीसमेत घाइते भएकोमा उल्टै सत्तारुढ प्रभावमा परेर प्रहरी वृत्त लैनचौरले एकपक्षीय ढंगले अनेरास्ववियुबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई फसाउने नियतले नेपाल विद्यार्थी संघनिकटहरुले दिएको झुट्टा जाहेरी दर्ता गरी जनक भण्डारीलाई समेत पक्राउ गरेको र अनेरास्ववियु पब्लिक युथ क्याम्पसका अध्यक्ष लक्ष्मण दुलालले दिएको जाहेरी दिन नमानेको कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अनेरास्ववियुले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया अवलम्बन गरी न्याय निसाफको लागि लडिरहने उल्लेख गर्दै अनेरास्ववियुले क्याम्पसमा हुने झैझगडालाई राजनीतिक संरक्षण नगरी निष्पक्ष अनुसन्धान एवम् निर्दाेष विद्यार्थी जनक भण्डारीलाई अविलम्ब रिहाइको प्रक्रिया बढाउन प्रहरी प्रशासनसमक्ष माग गरेको छ । 

साथै, नेपाल विद्यार्थी संघलाई शिक्षण संस्थाहरुमा अराजकता र गुण्डागर्दीजस्ता गतिविधिहरु बन्द गर्न चेतावनी दिँदै अन्यथा मुलुकभर कडाभन्दा कडा आन्दोलनको कार्यक्रममार्फत् यस्ता गतिविधिको भण्डाफोर गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू