विदेशी कामदारलाई अनलाइनबाटै श्रम स्वीकृति
नेपालमा काम गर्न चाहने विदेशी कामदारले अब अनलाइनबाटै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले भदौ १ गतेबाट अनलाइनबाटै उक्त सेवा प्रवाह गर्न लागेको हो ।
सेवाग्राहीलाई प्रवाह गरिँदै आएको सार्वजनिक सेवाहरुलाई सरल तथा पारदर्शी बनाउने उद्देश्यले निर्माण गरिएको ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइने विभाग जनाएको छ ।
सो कार्यान्वयनमा आउनेबित्तिकै विभाग तथा मातहतका निकायहरुबाट प्रवाह गरिँदै आइएको ट्रेड युनियन दर्ता–नवीकरण, गैर नेपालीहरुको श्रम स्वीकृति–इजाजत, श्रमिक आपूर्तिकर्ताको दर्ता–नविकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायतका काम अनलाइनबाटै हुने विभागले जानकारी दिएको छ ।
‘यस विभाग तथा मातहत निकायहरुबाट प्रवाह हुने सेवाहरु (ट्रेड युनियन दर्ता–नवीकरण, गैर नेपालीहरुको श्रम स्वीकृति–इजाजत, श्रमिक आपूर्तिकर्ताको दर्ता–नविकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्ता) प्राप्तिको लागि सेवाग्राहीहरुले अनलाइन प्रणालीमा गई आवेदन गर्नुहुन अनुरोध छ’, जारी सूचना उल्लेख छ ।
त्यस्तै, विभागले मुलुकका विभिन्न उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रलाई श्रमसम्बन्धी कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
श्रम ऐन, २०७४ को दफा ११ बमोजिम नियुक्तिपत्र वा रोजगार सम्झौता नगरी काममा लगाएको, न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, बालश्रम प्रयोग गरेको, श्रम इजाजत प्राप्त नगरी विदेशी नागरिकले काम गरेको भए जानकारी गराउन विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
मोबाइल नम्बर ९८५१३५०४५१ मा सम्पर्क गरेर वा भाइबर, ह्वाट्सएप, ट्वीटरमार्फत म्यासेज पठाएर खबर गर्न सकिने विभागले जनाएको छ ।
टिप्पणीहरू