माओवादी बैठकमा मुख्यमन्त्रीको आलोचना, गुटलाई पिसेर धुलो बनाइने मातृकाको उद्ध्घोस
संगठन सुदृढीकरणका लागि तीन महिने विशेष अभियान थालेको सत्तारुढ नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीमा विवाद देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माको कार्यशैलीलाई लिएर नेताहरुले चर्को आलोचना गरेपछि आन्तरिक विवाद बाहिर आएको हो ।
तीन महिने अभियानलाई सफल बनाउन हालै कर्णालीको इञ्चार्ज तोकिएका उपमहासचिव मात्रिका यादवले सुझाब माग्न आयोजित बैठकमा सरकारको आलोचनाको विषय चर्कोसँग उठेको एक नेताले बताए । बैठकमा सहभागी अधिकांश नेताले मुख्यमन्त्री शर्मासँग सम्पर्कसमेत गर्न मुस्किल भएको बताएका थिए ।
तर, माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीले भने मुख्यमन्त्रीलाई पार्टीले हस्तक्षेप नगर्ने निर्णय गरिसकेकाले त्यसमा कुनै विवाद नरहेको बताइन् । हामी केही नभन्ने पक्षमा छौँ, उहाँलाई कसरी काम गर्दा सजिलो हुन्छ । त्यही गर्नुहुन्छ’, उनले भनिन् ।
स्थायी सदस्य कालीबहादुर मल्लले आफ्नो पार्टीबाट गएका मन्त्रीहरुले कम्तिमा एकजना स्वकीय पार्टीको सिफारिसमा राख्नुपर्ने निर्णय कार्यान्वन नभएको बताए । उनले भने ,‘ पटक-पटक मैले मुख्यमन्त्रीलाई ध्यानाक्रषण गराएको छु । बाँकी काम गर्ने उहाँले हो । ’कर्णालीका १० वटै जिल्लाका नेता-कार्यकर्तालाई भेला गरेर शनिबारदेखि सुर्खेतमा प्रशिक्षण भैरहेको छ । त्यहाँसमेत पार्टी र सरकार बीचमा तालमेल नमिलेको आवाज चर्को रुपमा उठेको बताइन्छ । त्यसक्रममा सहभागीहरुले सत्तामा पुग्नेबितिक्कै पार्टीका कुरा नसुन्ने प्रवृतिले गर्दा हैरान भएको बताएका थिए ।
प्रदेश कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका नेता लगायतले सरकारमा सहभागी हुनेहरुले आफ्ना कुरा नसुनेको गुनासो गर्दै मुख्यमन्त्रीको खुलेर आलोचना गरेको बताइएको छ । प्रेस सेन्टर निकट पत्रकारले समेत आलाचेना गरेका थिए । त्यस्तै, स्थानीय तहका जनप्रतिनिधिले समेत पार्टीका कुरा नसुनेर एकलौटी तरिकाले अगाडी बढेको विषय पनि बैठकमा उठिरहेको छ । त्यसक्रममा कतिपय नेताहरुले पार्टीमा आलोचना गर्दा भित्तामा पुर्याउने गरेको गुनासो पनि गरे ।
इञ्चार्ज मात्रिका यादवले यस्ता समस्य देशैभरी रहेको भन्दै त्यसैका लागि तीन महिने अभियान सञ्चालन गरिएको बताएका छन् । गुट, उपगुटलाई पिसेर धुलो बनाइने र पार्टी निर्माण गर्ने उनले बताए ।
टिप्पणीहरू