सर्वदलीय बैठक निष्कर्षविहीन, सूचना टाँसेर संसद बैठक स्थगित

सर्वदलीय बैठक निष्कर्षविहीन, सूचना टाँसेर संसद बैठक स्थगित

संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपरान्ह राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख नेताहरुको बैठक निष्कर्षविहीन भएको जनाइएको छ । आज सकारात्मक कुराकानी भएकाले भोलि पुनः बस्नेगरी बैठक सकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताए ।

सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ । लगातारको अवरोध हटाउन प्रधानमन्त्री, सभामुखसहित शीर्ष नेताहरुले पटक–पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । 

यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक राख्नुभएको हो । तर, एमालेले आफ्नो अडान नछाडेका कारण सदन सुचारु गर्ने प्रयास सफल हुन सकेन ।

एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायम रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।

साता र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।  संसद सचिवालयले अपरान्ह ३ बजेको समयमा सूचना जारी गरेर पर्सि ३ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएको हो । राष्ट्रिय सभाको बैठक पनि पर्सिसम्मका लागि स्थगित गरिएको छ ।

सदनको अवरोध लम्बिँदै जाँदा पछिल्लो समय सभामुखको भूमिकालाई लिएरसमेत असन्तुष्टि सार्वजनिक हुन थालेका छन् ।

टिप्पणीहरू