पहिले दौडँदै दिनहुँ  शीतल निवास,अहिले नजानुको कारण के हो खास ?

पहिले दौडँदै दिनहुँ  शीतल निवास,अहिले नजानुको कारण के हो खास ?
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । 

लगातारको संसद अवरोधलगायत समसमायिक राजनीतिक बिषयमा छलफलका लागि आज बिहान बसेको बैठकमा एमालेका कोही पनि नेता उपस्थित भएनन् । बैठकमा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदहरुको सहभागिता थियो । 

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का,नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे उपस्थित थिए । त्यस्तै,नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी बैठकमा सहभागी थिए । 

त्यस्तै,जसपाबाट प्रमुख सचेतक प्रदीप यादव,  एकीकृत समाजवादीबाट मेटमणि चौधरी,स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंह पनि शीतल निवास पुगेका थिए । यसअघि पार्टीको आन्तरिक विवाद मिलाउनसमेत शीतल निवास धाउने गरेको आरोप खेपिरहेको एमालेले भने राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएको आरोप लगाएको छ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा उहाँको पार्टी रहेको छ । 

विद्या भण्डारी राष्ट्रपति हुँदा एमाले अध्यक्ष केपी ओलीसहित सो पार्टीका नेताहरुको शीतल निवास आउजाउ बाक्लो हुने गर्थ्यो । भण्डारीमाथि पनि आफू राष्ट्रपति हुनुपूर्व उपाध्यक्ष रहेको एमालेप्रति अतिरिक्त आशक्ति देखाएको आरोप लाग्ने गरेको थियो ।
 

टिप्पणीहरू