डेंगु रोक्न ‘वायो लार्भिसिद’ औषधी छर्दै काठमाडौं महानगर

डेंगु रोक्न ‘वायो लार्भिसिद’ औषधी छर्दै काठमाडौं महानगर
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र डेंगु रोग फैलिन नदिन नेपालमै पहिलो पटक ‘वायो लार्भिसिद’ नामक जैविक औषधीको प्रयोग गर्ने भएको छ । 

लामखुट्टेको लार्भा नष्ट गर्नका लागि उक्त औषधीको प्रयोग गर्न लागेको महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी गराए । उनका अनुसार यो औषधीले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई पनि हानी गर्दैन । औषधीलाई पानीको माथिल्लो भागमा छर्कनुपर्दछ । 

यसले लार्भाको पेटमा विष उत्पन्न गर्ने र उसको पाचन प्रक्रिया नष्ट गर्नुका साथै पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्ने उनले बताए । मेयर शाहले सो औषधीले डेंगुसहित फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने पनि जनाएका छन् । 

महानगरपालिकाले डेंगु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन (११८०) सेवा समेत २४ सै घण्टा सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, अस्पताल जानु परेमा (१०२) सम्पर्क गरी निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

योसँगै स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधीको वितरणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

टिप्पणीहरू