सार्वभौम सँसद कस्तो आवेगको शिकार ?

सार्वभौम सँसद कस्तो आवेगको शिकार ?
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको लगातारको संसद अवरोधलाई नेपाली कांग्रेसका एक युवा नेताले निर्लज्ज चरित्रका रुपमा टिप्पणी गरेका छन् । सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य नैनसिंह महरले सरकारमा हुँदा संसद विघटन गर्ने एमालेले प्रतिपक्षमा रहँदा चल्नै नदिएर निर्लज्जता देखाएको टिप्पणी गरेका हुन् । 

नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले संसदप्रति एमालेको दृष्टिकोण नै खराब देखिएको जनाउँदै त्यसलाई निर्लज्जतापूर्ण चरित्र भने । यस्तो प्रबृति लिएर हिंड्दा एमालेलाई लाज लाग्नुपर्ने महरको भनाई छ । 

सदन के तपाईं एक जनाको चाहना अनुरुप मात्रै चल्नुपर्ने हो ? आफू प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको छ ? भाग पाए संसद चल्न दिने,नत्र संसद चल्न नदिने अलोकतान्त्रिक र गैरजिम्मेवार चरित्र भएन र ? 

'एमालेले संसद अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । उसको अवरोधका कारण सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन । संसद जनमतको कदर गर्ने थलो हो । कुनै असन्तुष्टि भए संसद‍मा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ । सच्याउनका लागि दबाब दिन सकिन्छ । तर,संसद अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैरजिम्मेवारीपन हो । एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो,'उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २ पटक प्रतिनिधिसभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍माथि नै प्रहार गर्न खोजिरहेको महरले दावी गरे । उनले ओलीलाई प्रश्न गरे- लोकतान्त्रिक व्यवस्थामा सदनप्रति यति धेरै आक्रोश किन हो ?

सुन तस्करी प्रकरणलाई राजनीतिक एजेन्डा बनाएर अनुसन्धान प्रक्रिया बिथोल्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको महरको ठहर छ । उनले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छानबिनलाई वीचैमा राखेर अर्को छानबिन गराउँदा भएका प्रमाणहरू झन नष्ट हुन सक्नेतर्फ सरकार सचेत हुनु जायज कुरा भएको पनि बताए ।

 

टिप्पणीहरू