यार्तुङमा उत्साही हिमालपारीका मुस्ताङी
हिमालपारीको जिल्लाको रुपमा परिचित मुस्ताङको लोमन्थाङका बासिन्दाको मौलिक पर्व यार्तुङ लोमन्थाङमा शुरु भएको छ ।
मुस्ताङीहरुले आफ्नो पुरानो पर्व यार्तुङ हिजोदेखि धुमधामसँग मनाउन थालेका छन् । तीन दिनसम्म चल्ने यो पर्व हर्षोल्लासका साथ विधिपूर्वक मनाइने लोमन्थाङका गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य छेवाङ रिन्जिङ गुरुङले जानकारी दिए । परापूर्वकालदेखि नै मनाउँदै आएको उक्त पर्वलाई अहिले पनि निरन्तरता दिइएको उनको भनाई छ ।
लोमन्थाङको यार्तुङ मेलामा सांस्कृतिक राजा र रानी सहभागी हुन्छन् । उनीहरुबाट आशिर्वाद थाप्न लोमन्थाङ गाउँका मुखिया, मिधी (न्याय समितिका अध्यक्ष), कटुवाल र प्रत्येक घरबाट एक जना सहभागी हुने चलन छ ।
नेपालबाट राजतन्त्र हटेर गणतन्त्र स्थापना भएपनि उपल्लो मुस्ताङीले राजारानीलाई सम्मान र आदर गर्छन् । राजा जिग्मे पलवर विष्टको निधनपछि उनका भतिजा झिग्मे सिङ्गे पलबर बिष्ट राजाको भूमिकामा छन् । यार्तुङमा गाउँको कुल देउता पूजा गरेपछि गाउँका मुखिया तथा सबै जनालाई राजारानीले आशीर्वाद दिएलगत्तै यार्तुङ पर्वको शुभारम्भ गरिन्छ ।
परापूर्वकालदेखि चल्दै आएको संस्कार नरोकियोस भनेर मुखिया तथा वडाको नेतृत्वमा पछिल्लो समय पर्वहरु हुने गरेको छ । यार्तुङको शुरुआत १६ औं सताब्दीबाट भएको भन्ने आफूहरुले सुनेको भएपनि यार्तुङ मेला निकै पुरानो मध्येको एक संस्कार रहेको स्थानीयको भनाई छ ।
हिमालपारीको जिल्ला मुस्ताङबासीहरु वर्षा सकिएपछि हिउँदको चिसो छल्न बेंसी झर्ने परम्परा छ । यही परम्परासँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाई छ । यार र तुङ शब्दको समिश्रण नै यार्तुङ हो । उपल्लो मुस्ताङमा यार भनेको बर्खा र तुङको अर्थ चाड पर्व भन्ने बुझिन्छ । यसकारण यसलाई बर्खाको चाड पर्व भनिएको हो ।
लोमन्थाङ गाउँपालिकाका पूर्व अध्यक्ष सुवर्ण विष्टका अनुसार यार्तुङको अवधिमा पहिलो दिन गाउँका पुरुषहरुले घोडा कुदाउँछन्, पर्वको दोस्रो दिन महिलालाई बढी प्राथमिकतासहित पुरुष पनि र तेस्रो दिन गुम्बाका लामाहरुले घोडा कुदाउँछन् ।
यार्तुङ पर्वमा लोमान्थाङ गाउँका स्थानीय पाँच समूहमा बाँडिएर घोडा दौडाएर रमाइलो गर्छन् । यार्तुङमा स्थानीयले गीत गाउने, नाच्ने र सांस्कृतिक स्याब्रो नाच देखाउने गर्छन् । नेपालको धेरै भूभागमा मनाइने दसैं पर्व जस्तै महत्वपूर्ण मानेर यार्तुङ पर्व फरक प्रकारले मनाउने चलन छ ।
टिप्पणीहरू