विद्रोहको औचित्य पुष्टि भयो : माधव नेपाल

विद्रोहको औचित्य पुष्टि भयो : माधव नेपाल
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताउनुभएको  आजदेखि प्रारम्भ भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उहाँले उक्त दाबी गर्नुभएको छ । 

उहाँले मुलुकको वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताउँदै भन्नुभएको छ, ‘नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता छ । तर सबै कम्युनिस्ट पार्टी एक हुन नसकेको अवस्थामा समाजवादी कार्यदिशामा रहेका वामपन्थीहरुको संयुक्त मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षका कारण समाजवादी मोर्चा बनेको हो ।’

वर्तमान राजनीतिक परिस्थिति र गठबन्धनबाट आफ्नो पार्टी बाहिर नजाने उहाँको प्रतिबद्धता छ । राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै रहेको उल्लेख गर्नुभएको छ । 

३९ पृष्ठ लामो प्रतिवेदनमा वर्तमान प्रतिनिधिसभा त्रिशङ्कु र खिचडी प्रकृतिको रहेको विशेषण दिइएको छ । काठमाडौंमा आजदेखि पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक शुरु भएको हो ।

'कम्युनिष्ट आन्दोलनमा असाधारण चुनौतिहरु थपिए । त्यस परिस्थितिमा हामीले बिद्रोह गरेका थियौँ', प्रतिवेदनमा अगाडि भनिएको छ, 'प्रतिगमनलाई परास्त गरि जनवादी क्रान्तिका उपलब्धिहरुको रुपमा रहेका संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधिसभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने विद्रोहका लक्ष्य थिए । त्यसमा सफल भएका छौं ।'

संविधानको रक्षाका लागि तत्कालिन अवस्थामा आफूहरुले ठूलो चुनौतिको सामना गरेको र राजनीतिक मूल्य चुकाएको पनि अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
 

टिप्पणीहरू