गोरखापत्र संस्थानमा आन्दोलनको तयारी, सात बुँदे मागसहित अल्टिमेटम बुझाईंदै

गोरखापत्र संस्थानमा आन्दोलनको तयारी, सात बुँदे मागसहित अल्टिमेटम बुझाईंदै
सुन्नुहोस्

श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको हकहितका लागि लड्दै आएको श्रमजीवी पत्रकार संघ, नेपालले गोरखापत्र संस्थानमा विभिन्न मागसहितको अल्टिमेटम पत्र बुझाउने तयारी गरेको छ । सात बुँदे मागसहित संघले संस्थानलाई तीन दिनको अल्टिमेटम पत्र भोलि बुझाउन लागेको बताइएको छ । 

लामो समयदेखि करारमा रहेका स्ट्रेन्जर तथा श्रमजीवी पत्रकारलाई स्थायी गर्नुपर्ने, श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ सँग नबाझिने गरी कर्मचारी विनियमावली संशोधन गर्नुपर्ने, गैरकानुनी रुपमा पत्रकार निकाल्ने र भर्ती गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग अगाडि सारिएको छ । 

सोही क्रममा संस्थानमा अनिवार्य सामाजिक सुरक्षा कोष लागु गर्न, कामको मूल्याङ्कनको आधारमा समान व्यवहार गर्न, अन्य सरकारी कार्यालयमा कार्यरत करार–ज्यालादारी कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउनलगायतका विषय पनि उठाइने संघका अध्यक्ष जन्मदैव जैसीले बताए । 

गोरखापत्रमा धेरै बेथिति देखिएको उल्लेख गर्दै उनले भने, ‘स्तरहीन छपाई, गुणस्तरहीन मसी, कमसल कागज खरिद, गुणस्तरहीन प्लेट, अपारदर्शी ठेक्कापट्टालगायत विषयमा आर्थिक अनियमितता भइरहेको गुनासो आएको छ । यो विषयमा पनि कुरा उठाउँछौं ।’

संस्थानले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेबमोजिम पारिश्रमिकसमेत नदिएको उनले जानकारी दिए । जसअनुसार लामो समयदेखि रोकिएको श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको वृत्ति विकासलाई यथाशीघ्र अघि बढाउन पनि पहल गरिनेछ । साथै, तोकिएको अवधिभित्र माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा जाने उनको चेतावनी छ ।
 

टिप्पणीहरू