सशस्त्र र गुप्तचरमा सट्याकसुटुक

सशस्त्र र गुप्तचरमा सट्याकसुटुक

के गुप्तचर, के सशस्त्र, समान रोग छ– आफ्नालाई बनाउनु परे दरबन्दी ल्याइहाल्ने, ‘ऐरे–गैरे’ लाई हुत्याउनु परे ‘ऐया’ भन्न पनि नदिने ! सशस्त्र प्रहरीमा भर्खरै ११ एसएसपीको दरबन्दी थपियो भने गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान) मा एक एआइजी र दुई डिआइजीको दरबन्दी थप्ने खेल शुरु भएको छ । विभागलाई चाहिएर हैन, आफ्ना मान्छे बनाउनु परेर यस्तो भइरहेको हो । यसबीच कांग्रेस निकट सुमन वैद्यसहितलाई ‘काम छैन’ भन्दै घर पठाइयो । अहिले प्रजेशसिंह हमाललाई एआइजी बनाउन रातारात दरबन्दीको ‘खेती’ चलाइएको छ ।

प्रजेश विभाग प्रमुख हुतराज थापाका जाँडदेखि गाँडसम्म चलाउने पार्टनर हुन् । चोलेन्द्रसमशेरको कोटामा शेरबहादुरद्वारा गत वर्ष उद्योग मन्त्री बनाइएका गजेन्द्र हमालका भतिजा प्रजेशसिंह नेपालगञ्जकै बासिन्दा हुन् । त्यस्तै, दिल्लीमा एसएसपी राजन उप्रेती र काठमाडौं जिल्ला प्रशासनमा कार्यरत विकास पाण्डेको निम्ति दुई दरबन्दी थप्न अर्थमा पत्र पठाइएको छ । राजन अर्थमन्त्री प्रकाशरण महतको नुवाकोटस्थित गाउँले, जसरी पनि दरबन्दी स्वीकृत गराउँछु भन्दै दौडिरहेका छन् । 

उता, सशस्त्र प्रहरीतर्फ थप ११ एसएसपीको दरबन्दीमा तीन प्राविधिक र आठ प्रशासनतिरका छन् । त्यस्तै प्राविधिकतर्फ इन्स्पेक्टरबाट डिएसपीमा तीनजना बढुवा भैसकेका । बढुवाको यो लहर हवल्दारसम्मै पुगिसकेको छ । अहिले त्यहाँ प्रशासन भन्दा प्राविधिकतिरका हाकिमहरुको पकड मजबुद छ । लुम्बिनीका डिआइजी विदुर खड्का भदौ १ मा घर जाने भएपछि पोखराबाट कालिदास धौबजीलाई पठाउने तयारी छ । पोखरामा गणेश ठाडामगर, कूलबहादुर नेम्वाङमध्ये एक जान जोरजुलुम छ । धौबजी प्राविधिक ओभरसियर र लामो समय सशस्त्रको मर्मत शाखामा बसेका व्यक्ति हुन् ।

राम्रै छविका उनी पहिला एकेडेमी, त्यसपछि पोखरा, अब लुम्बिनी जाने तयारी हुँछैन । कर्णाली प्रदेशका इञ्चार्ज प्रदिपकुमार पाल पेट चिर्ने डाक्टर हुन् । लक्ष्मणसिंह पनि प्राविधिक डिआइजी नै हुन्, कम्प्युटर अपरेटर । सुदूरपश्चिम प्रमुख कुमार न्यौपाने पनि प्राविधिक हुन् । अर्का डिआइजी विदुर खड्का प्राविधिक सेवाकै हुन् । अहिले सशस्त्रभित्र सेनाबाट गएका अन्तिम व्यक्ति बाँकी छन्, एआईजी सिपी गौतम । उनी घर गएपछि सशस्त्रबाट सेनाको बीऊ समाप्त हुन्छ ।

गुप्तचरमा दरबन्दी थप्ने र आफ्नालाई पोस्ने मामिलामा प्रमुख हुतराजसहित एआइजी डेकेन्द्र कार्कीहरुको सक्रियता छ । प्रशासन हेर्न भक्तपुरबाट प्रकाश आचार्य विभागमा तानिएका छन् । त्यहाँ पहिला टेकराज तिमल्सिना थिए । केही समयका लागि भक्तपुर पठाई थपिएको दरबन्दीमा बढुवा भएपछि फेरि विभागमै तान्ने योजनाअनुसार उनी गएका हुन् । तर, जागिर भक्तपुरमा भए पनि हुतराजको हितमा उनी सिंहदरबारतिरै बढी हाजिर भइरहेका छन् । लमजुङ निवासी डिआइजी किशोर श्रेष्ठलाई हेटौंडाबाट कोशी प्रदेश सम्हाल्न धरान पठाइएको छ ।

माओवादीले भविष्यको प्रमुखका रुपमा उनलाई अगाडि सार्दैछ । कोशीका कृष्ण खनाल गण्डकी, कर्णालीका रामप्रसाद दास बागमतीमा, माधव तिमल्सिना कर्णाली गएका छन् । काभ्रेली पूर्वपञ्च चमारसिंह लामाका छोरा इन्द्रसिंह सुदूरपश्चिम पठाइएका छन् । 

 

टिप्पणीहरू