कागबेनीमा करोडौंको क्षति
गत साउन २८ गते राति मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४, कागबेनीमा आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र गाउँपालिकाले क्षतिको विवरण संकलन गरेर जिल्ला प्रशासन कार्यालय, मुस्ताङलाई बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार ११ वटा सार्वजनिक भवनमध्ये आठ वटा पूर्ण र तीन वटामा आंशिक क्षति भएको छ । त्यस्तै, २७ वटा बिजुलीका खम्बा र करिब दुई हजार मीटर तार पूर्ण रुपमा नष्ट भएको छ ।
प्रहरी चौकी, कागबेनी, गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय, कागबेनी आश्रम, मन्दिर, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र प्रभु बैंकको भवन पूर्ण रुपमा भत्किएको छ । आठ वटा पक्की तथा १४ वटा कच्ची घर बस्नै नहुने भएको छ । पाँच वटा घरमा भने आंशिक क्षति पुगेको छ ।
१० वटा गोठमा पूर्ण र २१ वटामा आंशिक क्षति पुगेको प्रशासनले जानकारी दिएको छ । जोमसोम–कोरला सडकखण्डमा रहेको पक्की पुल र गाउँपालिकामा भएका काठको तीन वटा र एउटा झोलुङ्गे पुल पूर्ण क्षति भएको छ । दुई स्काभेटर, २२ वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारी साधन क्षतिग्रस्त बनेको छ ।
बाढीमा परेर २३ वटा गाई र एउटा घोडाको मृत्यु भएको जनाइएको छ । १८ जना कृषकको कृषिजन्य बालीनाली र सिँचाई संरचनासहित स्याउको बगैंचा बाढीले बगाएको छ । बाढीबाट ३६७ जना स्थानीय र २८ जना बाहिरी जिल्लाबाट आएका मजदुर सबैभन्दा धेरै प्रभावित बनेका छन् ।
क्षतिको अनुमानित लागत कति ?
प्रशासनका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको लोमन्थाङ जोड्ने निर्माणधीन पक्की पुलमा तीन करोड रुपैयाँको क्षति पुगेको छ । ढल निकासमा डेढ करोड रुपैयाँको क्षति भएको अनुमान छ ।
अण्डरग्राउण्ड विद्युत केबलमा ७० लाख, बिजुलीको पोलमा ५० लाख, तीन वटा सिँचाई कुलोमा दुई करोड रुपैयाँको नोक्सानी भएको जनाइएको छ । दुई वटा काठे पुल भत्किँदा एक करोड रुपैयाँको क्षति भएको छ ।
आरसीसी पर्खालमा तीन करोड, खानेपानी पाइपमा ५० लाख, मन्दिर र धर्मशालामा गरेर तीन करोड, स्थानीय सडकमा ३० लाख, तटबन्धनमा डेढ करोड, खेलमैदानमा १० लाख, पानी घट्टमा १० लाख र सडकमा जडित सोलार लाइटमा ५० लाखको क्षति पुगेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
टिप्पणीहरू