ओलीलाई ज्वरो आएपछि रोकिएको बैठक सुचारु

ओलीलाई ज्वरो आएपछि रोकिएको बैठक सुचारु
सुन्नुहोस्

संसद्को अवरोध हटाउने विषयमा सहमति खोज्न प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसेको छ । 

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका शीर्ष नेताहरु सहभागी छन् । बिहान साढे ११ बजेदेखि बसिरहेको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र  नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाेलप्रसाद अर्याल, राप्रपाका नेता बुद्धिमान तामाङलगायत उपस्थित छन् । 

त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एमालेका प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र जसपाका प्रमुख सचेतक प्रदिप यादवलाई पनि बैठकमा राखिएको छ । 

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको जनाइएको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका लेखक र माओवादीका पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

समितिले हिजै मस्यौदा ड्राफ्ट गरेर बुझाउने तयारी गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो । ओली हिजो ज्वरो आएका कारण बैठकमा जान नसक्नुभएको जनाइएको छ । 

जारी बैठकमा समितिले तयार पारेको सहमतिको मस्यौदा पेश हुने र शीर्ष नेताहरुले 'ओके' गरेपछि निर्णय सार्वजनिक गरिने सम्भावना छ ।

टिप्पणीहरू