कोशीमा एमाले र राप्रपा सँगसँगै

कोशीमा एमाले र राप्रपा सँगसँगै
सुन्नुहोस्

नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । आज बैठक शुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले नाराबाजी गर्दै सदन बहिष्कार गरेका हुन् । 

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा मतदान प्रक्रियामा सामेल भएर सभाध्यक्षले संविधान उल्लंघन गरेको भन्दै विपक्षी गठबन्धनका दुई दलका सांसदहरु विरोधमा उत्रिएपछि बैठक प्रभावित भएको छ । 

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन एमालेले उपसभामुख सृजना दनुवारसहित अध्यक्ष मण्डलका सदस्यहरुलाई बैठकमा अनुपस्थित गराएपछि सभाको अध्यक्षता काँग्रेसका इसराइल मन्सुरीले गरेका थिए । त्यसक्रममा उनले अध्यक्ष मण्डलका अर्का सदस्यलाई सभामुखको आसनमा बसाएर आफूले थापाको पक्षमा मत हालेका थिए । 

सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् । आज पनि बैठकको अध्यक्षता ज्येष्ठ सदस्यमध्येका एक मन्सुरीले नै गरेका छन् ।

आज बैठकमा नाराबाजी गर्ने राप्रपाले भने मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउन नदिने रणनीतिअनुसार उक्त दिनको बैठकमा आफ्ना सबै सांसद अनुपस्थित गराएको थियो ।

टिप्पणीहरू