बालेनको रिट खारेज, स्पष्टिकरण नदिए कारबाही
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध हालेको रिट खारेज भएको छ । उच्च अदालत, पाटनले आज रिट खारेज गर्दै प्राधिकरणसमक्ष स्पष्टिकरण पेश गर्न महानगरपालिकालाई आदेश दिएको छ ।
महानगरपालिकाले गत जेठ ३२ गते प्राधिकरणसँग समन्वय नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार एकाएक हटाएको थियो । त्यसपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगरपालिकालाई सात दिने स्पष्टिकरण सोधेका थिए ।
तर, मेयर बालेनले उक्त पत्र बदरको माग गर्दै उच्च अदालतमा रिट निवेदन हालेका थिए । त्यतिबेला अदालतले मागदाबीबमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गर्दै अल्पकालीन आदेश जारी गरेको थियो ।
त्यस्तै, अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि असार १२ गते निवेदक र प्रत्यर्थीलाई बोलायो । रिट खारेज गर्दै उच्चले मेयर बालेनलाई सोधिएको लिखित स्पष्टिकरणको जवाफ पेश गर्न आदेश दिएको छ । अन्यथा गरिएको अवस्थामा ५० हजार रुपैयाँ जरिवाना हुने उच्चले जनाएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘उच्च अदालत पाटनले बालेन्द्र शाहको उक्त रिट खारेज गरेपश्चात् अब उनले नेपाल नागरिक उडड्यन प्राधिकरणद्धारा मिति २०८०–०३–०१ गते सोधिएको लिखित स्पष्टिकरणको जवाफ पेश गर्नुपर्नेछ । अन्यथा, उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजारसम्मको जरिवाना हुनेछ ।’
टिप्पणीहरू