मध्यरातमा अधिवेशन अन्त्य

मध्यरातमा अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको तेस्रो अधिवेशन मध्यरातदेखि अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले राति १२ बजेदेखि प्रदेश सभाको चालुु तेस्रो अधिवेशनको अन्त्य गरेको जानकारी दिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले संविधानको धारा १८३ को उपधारा २ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएका छन् । त्यसअघि राति बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिसको निर्णय गरेको थियो । 
 
सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका थिए । बैठकको अध्यक्षता गरेका सदस्य इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए । त्यसपछि एमाले र राप्रपाले बैठक बहिष्कार गरेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको छ ।

थापा सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको छ । एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई मन्सुरीले दिएको मत अवैध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आज उक्त रिटमाथि सुनुवाई हुँदैछ ।

टिप्पणीहरू